नुवाकोट- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देश समृद्ध बनाउन हरेक जिल्लाले एक वर्षमा एक आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन्।
विदुर नगरपालिका वडा नं ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनको क्रममा मन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गरे। 'पाँच वर्षमा पाँच वटा महत्वपूर्ण योजना सम्पन्न गर्नसके जिल्ला विकासको हिसाबले कायापलट हुनेछ,' उनले भने।
मुख्यमन्त्री पौडेलले कहीँकतै वृद्धाश्रमको नाममा व्यापार हुने गरेको बताउँदै नुवाकोटको जस्तो नमुना भवन हरेक जिल्लामा निर्माण गर्नुपर्ने बताए।
कार्यक्रममा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद नारायणप्रसाद खतिवडाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने भनाइ राखे।
विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटमा ६ रोपनी जग्गामा चारतले भवन बनाएको छ।
सरकारी कार्यालयको करिब एक करोड ७२ लाख रुपैयाँ र दाताबाट प्राप्त एक करोड ४७ लाख रुपैयाँ भवन निर्माणमा लागेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।