प्युठान- नेपाल भ्रमण वर्ष सुरु हुन दुई दिनमात्र बाँकी छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।
तर, जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन्। तयारीको छनक कतै छैन। प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको काम पनि हुन सकेको छैन।
भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञामुराम न्यौपानेले बताए। ‘भ्रमण वर्षको प्रचारप्रसार हुन समेत सकेको छैन,’ उनले भने, ‘यसलाई सार्थक बनाउन बृहत् योजना आवश्यक छ, तर अहिलेसम्म कुनै तयारी छैन।’ भम्रण वर्षको तयारीमा ढिलाई भएको बताउँदै न्यौपाने भने, 'न पर्यटक लोभ्याउने ठोस काम हुन सकेका छन् न पर्यटकलाई जाउजाउ घुमौघुमौ लाग्ने खालका गतिविधि नै।’
स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम सुरु गरेका छैनन्। जसका कारण लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ। यहाँस्थित होटल व्यवसायी, उद्योगी व्यापारी, स्थानीय तह, पत्रकारलगायतसँग छलफल बहस हुन सकेको छैन। जिल्लामा कति स्थानको कुन-कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने नयाँ खोजीसमेत भएको छैन। होटल व्यावसायी संघ प्युठानका अध्यक्ष गंजबहादुर थापाले अहिलेसम्म जिल्लामा भम्रण वर्ष केन्द्रित तयारी नभएको बताए।
भ्रमण वर्ष सफल बनाउन होटल व्यवसायी प्रतिबद्ध रहेको बताउँदै उनले पर्यटनलाई कला संस्कृति र उत्पादनसँग जोड्ने गरी योजना अघि सार्न सुझाब दिए।
सरकारले एक सय वटा गन्तव्य सूचिकृत गर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्धारीसहित झिमरुक गाउँपालिकाको ढाँडस्थित रक गार्डेनलाई छानिएको छ। जिल्ला समन्वय प्रमुख केशव राज आचार्यले पर्यटन वर्षलाई लक्षित गरेर जिल्लामा विशेष तयारी गरिने बताए। ‘पर्यटन वर्ष भव्य मनाउने तयारी छ। त्यसको लागि आन्तरिक तयारीमा जुटेका छौ,’ आचार्यले भने, ‘अब छिट्टै समिती बन्ने तयारीमा छ।’ जिल्लाका नौ वटै स्थानीय तहलाई भम्रण वर्ष विशेष गतिविधि अघि बढाउन निर्देशन दिएको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।