मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ ।
यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने कोशिकामा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ ।
मधुमेह रोग लाग्ने सम्भावना त्यसको जोखिमका कारक तत्वले निर्धारण गर्छ । पहिलो कारण वंशाणुगत हो । आमाबाबुलाई मधुमेह भएको छ भने छोराछोरीमा हुने जोखिम ८० प्रतिशत हुन्छ । आमालाई मात्र हुँदा ६० प्रतिशत र बाबुलाई मात्र हुँदा ४० प्रतिशत जोखिम हुन्छन् ।
यसैगरी मोटोपना भएका, अल्छी जीवनशैली, अस्वस्थकर खानपिन, रक्सी–चुरोट बढी सेवन गर्ने मानिसलाई यो रोगको सम्भावना बढी हुन्छ ।
मधुमेहको उपचार सम्भव छ । टाइप वान मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर, पूर्ण निको पार्न सकिँदैन । यसमा अनिवार्य इन्सुलिन लिनुपर्छ ।
तर, टाइप टुलाई नियन्त्रण गरेर निको पार्न सकिन्छ । टाइप टुमा सुरुको अवस्था भए खानपिन र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।
यसरी पनि नियन्त्रण नभए औषधि सेवन गर्नुपर्छ । तर, कालान्तरमा गएर केही बिरामीले इन्सुलिन लिनुपर्ने पनि हुन सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।