बरिष्ठ मुटुरोग सर्जन डा. भगवान कोइराला भन्छन्, ‘युवाहरूमा हृदयाघात देखिनुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली नै हो ।’ उनका अनुसार ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयाघात देखिएको छ भने तीमध्ये ९८ प्रतिशत व्यक्तिहरू धूमपानको लतमा रहेको पाइन्छ । बाँकीमा भने अन्य समस्याका कारण हृदयाघात भएको हुनसक्छ ।
डा. कोइरालाका अनुसार सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गैरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसहरूलाई कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिइरहेको छ ।
‘विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले हृदयरोगीको संख्या बढाइरहेको छ’ डा. कोइरालाले भने, ‘झन युवापुस्तामा धुमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ ।’
नेपालमा पछिल्ला वर्षमा महिलामा पनि हृदयाघातको जोखिम बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ । मुटुरोगको उपचार हुने गंगालाल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक तथा ग्रान्डी अस्पतालमा युवा तथा महिलासमेत हृदयाघातको उपचारका लागि आउने गरेका छन् ।
गंगालाल अस्पतालको गत वर्षको तथ्यांकअनुसार अस्पतालमा ११८८ जनाको हृदयाघातको उपचार गरिएको थियो । तीमध्ये २७ प्रतिशत अर्थात् ३ सय ३१ जना महिला थिए । सन् २०१२ मा त अस्पतालमा झन् ३४ प्रतिशत महिलाको हृदयाघातको उपचार गरिएको थियो । अस्पतालका चिकित्सक डा. केसीका अनुसार महिलामा हृदयाघात बढ्नुको प्रमुख कारण महिलामा हुने मोटोपन र शारीरिक अभ्यासको कमी हो नै । यसका साथै महिनावारी सुकेपछि महिलामा सुरक्षात्मक हर्मोनको कमी हुनु र शारीरिक अभ्यासको निष्कृयताले मुटुरोग जन्माइरहेको उनको भनाई छ ।
वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले त उपचारका क्रममा १७ वर्षका युवामा समेत हृदयाघातको जोखिम रहेको फेला पारेका छन् । उनका अनुसार मोटोपनसँगै अत्याधिक धूमपान गर्ने ती युवा समयमा नै उपचारका लागि आएकाले हृदयाघातको जोखिमबाट जोगिएका थिए ।
‘नेपालमा युवामा हृदयाघात ह्वात्तै बढेको पाइन्छ,’ उनले भने, ‘पाँच वर्षअगाडिसम्म समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो। तर आजकाल १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि हृदयाघात बढेको छ ।’
डा. रेग्मीका अनुसार दस वर्ष यता हृदयाघात पाँच गुणाले बढेको छ । जसमा १७ वर्षदेखि माथिका युवा पनि रहेका छन् । उनले विलासिता र सुविधाका कारण शारीरिक श्रमका दृष्टिले निष्क्रिय जीवनशैली हृदयाघातको प्रमुख कारणका रूपमा देखिएको बताए ।
विश्व स्वस्थ्य संगठनका अनुसार हृदयाघातका बिरामी विकसित मुलुकको तुलनामा गरिब तथा विकासोन्मुख देशका युवामा धेरै देखिन थालेको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ । अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ ।
विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् ।
लक्षण
हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ । छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पिडा भएको जस्तो महसुस हुने गर्दछ । यसका साथै पेटको माथिल्लो भाग, पिठ्युँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्दछ । हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ ।
यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन् । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।