अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ।
सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो। व्यायामको एउटा बाणले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ।
हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ।
चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्दछ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ ।
कारण :
उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ।
धुम्रपान
धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ।
उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ।
मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।
मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।
वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।
अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।
मानसिक तनाव
मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।