उच्च रक्तचाप खतरनाक रोग हो । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।
उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्यधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पु¥याउँछ । आजको युगमा काम नगर्ने, उच्च आकांक्षा नराख्ने व्यक्ति विकासको गतिमा पछाडि पर्छ । अगाडि बढ्ने होडबाजीले रक्तचाप पनि माथि पु¥याउँछ । यसको मतलब रक्तचाप नियन्त्रण गर्न विकासको गीतमा रोक लगाएर जोगी नै बनेर हिँड्नु पर्छ भन्न खोजेको अवश्य होइन ।
तर रक्तचाप बढ्ने रोग लागेका व्यक्तिले यस प्रकारको व्यस्त जीवनशैलीमा परिवर्तन ल्याउन सके रक्तचाप नियन्त्रण गर्न सजिलो पर्छ । निश्चित दिनचर्या अनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, अफिसको काम घरमा कहिल्यै पनि नल्याउने, महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने, छुट्टीको दिनमा मिटिङ्ग तथा अफिसका काम छाडेर श्रीमती/श्रीमान् वा बालबच्चालाई पनि समय दिने, उनीहरुसँग छुट्टीको समयमा घुम्न जाने, प्रत्येक वर्ष १ पल्ट २–३ हप्ताको छुट्टी मिलाई विश्राम र मनोरञ्जन गर्ने बानी बसाल्ने गर्नुपर्छ ।




उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नुनको मात्रामा कटौती गर्नु अत्यावश्यक छ । उच्च रक्तचाप नियन्त्रण गर्न दैनिक ३ देखि ५ ग्रामभन्दा बढी नुनको उपभोग गर्नु हुँदैन । खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने, बट्टा भित्रका नुन बढी हुने खाद्य पदार्थ नखाने, बोतलमा राखेको अचार र पापड नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन विस्कुट नखाने, चिज, बटर जस्ता नुन बढी हुने बस्तु नखाने, स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्ने गर्नुपर्छ ।
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । यस कारण उच्च रक्तचाप नियन्त्रण गर्न शारीरिक तौल घटाउनु जरुरी हुन्छ ।
मन र मस्तिष्कलाई शान्त पार्न सके उच्च रक्तचाप पनि शान्त भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्कलाई शान्त पार्न सकिन्छ । योग जस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्कलाई शान्त बनाइ उच्च रक्तचाप तथा मुटुका अन्य रोगबाट बच्न सकिन्छ।
नियमित व्यायामले रक्तचाप घटाउन मद्दत पुर्याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । यसबैभन्दा सजिलो र प्रभावशाली व्यायाम नियमित रुपमा दैनिक १ घण्टा कम्तिमा ४ किमी प्रति घण्टाको दरले हिँड्नु हो । हिँड्दा शरीरलाई बढी सकस पर्नु चाहिँ हुँदैन । छाती दुख्ने वा दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन । विस्तारै शुरु गरेर पछि तिव्रता बढाउँदै जानुपर्छ ।
उच्च रक्तचापबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा नुन, चिनी, घ्यू र तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्टेरोल पनि हुने अत्यधिक संभावना रहन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानापानमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँदछन् । सूर्तीले धमनी कडा र साँगुरो बन्ने प्रक्रियालाई बढाउँछ । रक्तचाप घटाउन इच्छुक व्यक्तिले धूमपान र सूर्ती पूर्णतया बन्द गर्नुपर्छ । साथै मदिरा सेवन पूर्णतया बन्द गर्नु नै उत्तम मानिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।