काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियन (इयू) तर्फ संकेत गर्दै नेपालको सामाजिक प्रबन्ध, संवैधानिक व्यवस्था र उपलब्धिहरुलाई कम नआँक्न चेतावनी दिएका छन्।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह समेत गरे।
‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन् जिद्दी गरे जस्तो छ’, प्रधानमन्त्री ओलीले भने, ‘म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस्।’
प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्मप्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पठाएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए।
नेपालको लोकतन्त्रप्रतिको निष्ठामा शंका नगर्न पनि प्रधानमन्त्री ओलीले स्मरण गराए।
‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लोकतन्त्र र समावेशीको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १/२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन्?’
प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुने मानसिकता त्याग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
निर्वाचन आयोगलाई सशक्तिकरण गर्न आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। आयोगको विश्वसनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘कसैको दबावमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम गर्यो’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काम भविष्यमा दोहोरिनु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।