मुम्बई– सन् १९८२ मा रिलिज भएको हिन्दी फिल्म ‘साथ–साथ’ मा रहेको गजल ‘तुमको देखा तो ए खयाल आया...’ आज पनि उत्तीकै चर्चित छ। जावेद अख्तरको शब्दमा कुलदिप सिंहले संगीत दिएको सो गजलमा जगजित सिंह तथा चित्रा सिंहले सुमधुर आवाज दिएका छन्।
सो गजलको चर्चाका अलावा यस फिल्मको केन्द्रिय पात्रको रुपमा अभिनय गरेका नायक फारुक शेख पनि अभिनयका कारण धेरैको मन मस्तिष्कमा बस्न सफल छन्।
गम्भीर किसिमका पात्रहरुमा सहजताका साथ अभिनय गर्नसक्ने दख्खल भएका उनै नायक शेखको आज ७०औं जन्मदिन हो। उनकै जन्मदिनको अवसरमा आज विश्वव्यापी ‘सर्च इन्जिन’ गुगलले सम्मानस्वरुप डुडल बनाएको छ।

मुलधारका सिनेमा आइरहेको तत्कालिन सन्दर्भमा रंगमञ्चबाट हिन्दी सिनेमामा आएका शेखले सुरुवातबाटै सफलताको झण्डा गाड्न सफल भएका थिए।
सन् १९४८ मार्च २५ अर्थात आजकै दिनमा गुजरातको अमरोलीमा जन्मिएका शेखको २०१३ को डिसेम्बर २७ मा दुवईमा हृदयघातका कारण निधन भएको थियो।
सन् १९७०–८० को दशकमा जब हिन्दी फिल्ममा हिरोको ‘एंग्री योंगम्यान’को रुपलाई अधिक रुचाइएकाे अवस्थामा यथार्थवादी फिल्ममार्फत अाफ्नाे कला देखाएका शेखकाे प्रस्तुतिलाई पनि उत्तीकै महत्व दिइएको थियो।
नाट्य संस्था भारतीय जन नाट्य संघ ‘इप्टा’मा धेरै वर्षसम्म सक्रिय रहेपछि उनी चलचित्रको बाटोमा आएका थिए। सन् १९७३ मा फिल्म ‘गर्म हवा’ बाट उनले बलिउडमा डेब्यु गरेका थिए।

कला फिल्मका अलावा मुलधारका अन्य फिल्महरुमा पनि उनले आफ्नो अलग पहिचान बनाए। उमराव जान, चस्मे बद्दूर, नुरी, सतरञ्जके खिलाडि, माया मेम साब, कथा, बाजार, रंग बिरंगी जस्ता धेरै फिल्महरुमा उनले फरक–फरक पात्रमा आफ्नो अभिनय कला देखाएका छन्।
उनको यथार्थवादी अभिनय अाज पनि उत्तीकै मात्रामा सम्झिने गरिन्छ। फिल्म ‘उमराव जान’ पूर्ण रुपमा नायिका रेखा शाहमा केन्द्रित थियो। यसको बावजुत दर्शकहरुले फारुखले अभिनय गरेको ‘नवाब सुल्तान’ नामक पात्रलाई भुल्न सक्दैनन्।
उनी आफ्नो पहिलो चलचित्र ‘गरम हवा’मा सहायक कलाकारको रुपमा पर्दामा देखिएका थिए। तर आफ्नो अभिनयबाट छोडेको सशक्त छापका कारण उनले आफ्नो विगतलाई पछाडि फर्केर हेर्नु परेन।

फारुकले अभिनय गरेकाे फिल्म ‘गमन’ मा रोजगारीको तलाशमा भट्किएको ट्याक्सी ड्राइभर, ‘चस्मे बद्दूर’ को सीधा, सरल र लजालु युवा, ‘कथा’ को चालक र धुर्त युवा बासुदेव र यसका अलावा ‘माया मेम साब’ मा अति नै महत्वकांक्षी रहने तर केहि हदसम्म मनोरोगी श्रीमतीको असहाय श्रीमानजस्ता कैयौं पात्रहरु अझै पनि धेरैले बिर्सिन सक्दैनन्।
अभिनय कौशल, पात्रको मनोभावनालाई पर्दामा उतार्न गरेको मेहनतको नतिजाका कारण फारुख शेखलाई धेरैले अाफ्नाे प्रेरणाकाे स्राेत समेत मान्ने गरेका छन्।
सत्यजित रे, मुजफ्फर अली, ऋषिकेश मुखर्जी, केतन मेहता जस्ता प्रख्यात निर्देशकसँग काम गरेका फारुखले कलेज पढ्ने समयमा रंगमञ्चमा धेरै पटक अाफुँलाई उभ्याएका थिए। उनले इप्टाका अलावा चर्चित निर्देशक सागर सरहदीसँग पनि काम गरेर अनुभव बटुली सकेका थिए।

अभिनेत्री सवाना आज्मीसँग उनले एक्रसाथ नाटकमा काम मात्र गरेनन्। उनीहरु एकै कलेजका विद्यार्थी समेत थिए। यी दुबैले अभिनय गरेको नाटक ‘तुम्हारी अमृता’ बाट उनीहरुले निक्कै चर्चा बटुलेका थिए। तर फिल्ममा भने फारुख र दिप्ती नवलको जोडी चर्चीत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।