काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घोषित/अघोषित कुनै पनि लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्था समेत नरहेको प्रस्ट पारेको छ।
औद्योगिक ग्राहकलाई केही घन्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।
उनले भने, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत् गएको हो। त्यसलाई उपभोक्ताले लोडसेडिङ गर्यो भन्ने बुझ्नुभएको छ। त्यसरी बुझ्नु भएन ।’
सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली टिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ। विगतमा पनि यस्तो ट्रिपिङ भए पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए। प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घन्टा तयारी अवस्थामा राखेको छ ।
‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केबलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सफर्मर सार्नुपर्ने लगायतका प्राविधिक कारणले त्यस आसपासमा क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्छ’, घिसिङले भने, ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न मन्त्रीज्यूबाट पनि निर्देशन भइसकेको छ, सोही अनुसार काम गरिरहेका छौं।’
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिटो–छरितोरुपमा समाधान गरी आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गरिरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।