काठमाडौं– नेपालमा बनेका फिल्महरुमध्ये सबैभन्दा सफल रुपमा सिक्वेल निमार्ण गरिरहेको फिल्म हो ‘नाई नभन्नु ल’। विकास आर्चायको निर्देशनमा सिक्वेलको निरन्तरतासँगै सोमबारदेखि ‘नाई नभन्नु ल ५’को छायांकन सुरु हुनेछ। त्यसका लागि निर्माण युनिटले कलाकारसहित काठमाडौंको मैतिदेवि मन्दिरमा विशेष पुजा समेत गरेको छ।
आचार्यकै निमार्ण रहने फिल्ममा अभिनेत्री प्रियंका कार्की र बाल कालाकार अनुभव रेग्मीको निरन्तरतासँगै अन्य कलाकारहरु भने हेरफेर भएका छन्। अभिनेत्री स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी पनि फिल्मको मुख्य भुमिकामा देखिँदै छन्।
छायांकनमा जानअघि अन्तिम समयमा आएर चलचित्रमा अभिनेत्री केकी अधिकारीको फिल्ममा मुख्य भुमिका रहने निश्चित भएको छ। निर्देशक आचार्यले केकी अमेरिका भएको बेला कुराकानी भएको र पछिमात्रै निर्णय भएको जानकारी दिए।
आचार्यले भने,‘उनि पनि फिल्ममा मुख्य भुमिकामै देखिने छिन्।’ तर यस सम्बन्धमा केकीलाई प्रश्न गर्दा, फिल्म निमार्ण युनिटको सल्लाह अनुसार आफु मौन नै बस्नुपर्ने बाध्यता रहेको बताइन्। उनले भनिन्, ‘नेपालकै सफल र सर्वाधिक सिक्वेल बनेको फिल्म त्यसमा पनि एउटा राम्रो टिमसँग काम गर्दैछु। त्यसैले निकै खुसी छु।’
केकीद्वारा अभिनित पछिल्ला फिल्महरुले दर्शकमाझ खासै जादु चलाउन नसकेको अवस्थामा केकी भने अहिलेदेखि नै फिल्मको नतिजातर्फ आफुले खासै नसोचेको बताइन्। केकीले भनिन्, ‘म आफैमा प्रायः पर्ख र हेर भन्ने स्वभावकी मान्छे हुँ। त्यसैले काम गर्ने हो नतिजा के आउँछ त्यो पछि नै हेरौँला। तर यति हो कि राम्रो ब्यानरमा राम्रो अनि सफल काम गर्नैपर्ने चुनौती भने महशुस गरिरहेकी छु।’
फिल्ममा ३–३ जना अभिनेत्रीहरुको आगमन भइसक्दा पनि अभिनेता भने अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन। फिल्ममा अभिनेताका रुपमा कसको इन्ट्री हुने हो भन्ने कौतुहलताको विषय बनेको छ।
निर्देशक अचार्य र सामिप्यराज तिमिल्स्सिनाको कथा रहेको यस फिल्मको अनुमानित बजेट करिब १ करोड रहेको छ। फिल्मलाई इलाम, झापा र काठमाण्डौका रमणिय स्थानहरुमा छायांकन गरिने निर्देशक आर्चायले जानकारी दिए। वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी तथा अर्जुन जीसीको सम्पादन रहने फिल्मलाई आउँदो भाद्र ८ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।