काठमाडौं– पार्टी एकताको प्राविधिक विषय मिलाउन वामगठबन्धनले गठन गरेको राजनीतिक प्रतिवेदन कार्यदलको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो ३ बजेका लागि निर्धारण गरिएको हो।
एमाले नेता माधव नेपाल संयोजकत्वको कार्यदलले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गरेको छ। कार्यदलले तयार गरेको मस्यौदामा सदस्यहरुले आन्तरिक छलफल गर्न बाँकी छ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले मस्यौदाको काम सकिएको भन्दै आजको बैठकमा छलफल सुरु गरिने बताए। 'ड्राफ्टको विषय नखुलाउने सहमति छ', उनले भने, 'तर मस्यौदाबारे छलफल सुरु हुन्छ।'
कार्यदलले आजै मस्यौदा माथिको छलफल सकेर आवश्यक परिमार्जन सहित पार्टी एकता संयोजन समितिमा राजनीतिक प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिमा एमालेबाट नेपालसहित भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।