काठमाडौं– मालिका केशरीको उपन्यास ‘सुवर्णलता’माथि शनिबार अन्तरसंवाद गरिएको छ। पुस्तकमाथि लेखक अमर न्यौपाने, समालोचक डा राम प्रसाद ज्ञवाली र प्रा राम लोहनीले चर्चा गरेका थिए।
पुस्तकका बारेमा बोल्दै लेखक न्यौपानेले नेपाली उपन्यासको माझमा ‘सुवर्णलता’ले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको दावी गरे। ‘उपन्यास केही लामो भएकाले बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिँदैन।’, न्यौपानेले भने,‘उपन्यासकी नायिका सुवर्णलता पच्चिस सय वर्ष भन्दा धेरै जीवीत हुनु र उनमा शारीरिक क्षयन हुनु केही अपत्यारीलो तथ्य लागेको बताए।’
समालोचक डा राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास ‘सुवर्णलता’मा पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँध्ने आर्कषण रहेको धारणा राखे। उनले लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेको बताए। ज्ञवालीले भने,‘उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको छ।’
कार्यक्रमका अर्का वक्ता प्रा राम लोहनीले भने,‘पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा विचरण गर्नपुग्छ।’ उनले उपन्यासमा बुद्ध जीवितै भएको र बुद्धसँग उपन्यासकी नायिकाको वार्तालाप तथा प्रेम प्रस्तावलाई मार्मिक ढंगबाट उठान गरिएको तर्क गरे। ‘भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिनेछन्।’, उनले थपे।
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए। उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।