काठमाडौं- नेपाल वायु सेवा निगमले (नेपाल एयरलाइन्स)को ३२ वर्षे पुरानो जहाज बोइङ पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरीद गर्ने भएको छ।
एयरलाइन्सको 'नाइन एन एसिबी' बोइङ जहाज ५७ लाख १० हजार अमेरिकी डलरमा सिएसबिएसलाई बिक्री गर्ने निर्णय भएको नेपाल वायुसेवा निगम स्रोतले जानकारी दिएको छ।
जहाज खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो। बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए।
निगमले पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। तर सो भन्दा १९ लाख ६६ हजार अमेरिकी डलर कममा निगमले जहाज विक्री गर्ने भएको हो।
निगमले आवेदक ३ कम्पनीमध्ये जसले धेरै रकममा जहाज खरिद गर्न गरी रकम कबुल गर्छ उसैलाई बिक्री गर्ने जानकारी दिएको थियो।
विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगम थियो।
निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो।
निगमले पहिलो पटकको टेन्डरमा तोकेको न्यूनतम मूल्यमा विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो।
टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक पनि कुनै कम्पनीले आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी सूचना जारी गरेको थियो।
१५ दिने सूचनामा ३ कम्पनीले आवेदन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।