काठमाडौं- नेपाली कांग्रेसमा मर्यादाक्रमबारे पार्टीभित्र विवाद देखिएको छ।
नेता ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको मर्यादाक्रम निर्धारण समितिले पदाधिकारीपछिको मर्यादाक्रममा गोपालमान श्रेष्ठलाई राख्न गरेको प्रस्ताव वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ।
शनिबार केन्द्रीय कार्यसमिति बैठकको सुरुमै मर्यादाक्रम निर्धारण समितिका संयोजक कार्कीले पदाधिकारीपछिको वरीयतामा श्रेष्ठलाई प्रस्ताव गरेका थिए। संयोजक कार्कीले पार्टी एकीकरण अगाडि प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठ कार्यवाहक अध्यक्ष रहेको तर्क गर्दै पदाधिकारीपछिको वरीयतामा उनलाई राखिएको बताएका थिए।
कार्कीको प्रस्ताव लगत्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले कडा प्रतिवाद गरे।
‘यसरी बीचमा एक जनाको मात्र मर्यादाक्रम निर्धारण गर्न मिल्दैन। सबैको एकसाथ मिलाउनुपर्छ। एक जनाका लागि मात्र समिति बनाइएको हो?’, उनले भने, ‘एक जनाका लागि मात्र मर्यादा निर्धारण गर्न मिल्दैन।’
अर्का नेता गुरुराज घिमिरेले पनि एकसाथ सबैको मर्यादाक्रम निर्धारण हुनुपर्नेमा जोड दिएका थिए।
‘गणेशको मूर्ति स्थापना गरे जस्तो एउटै मात्र कुर्सी राखेर केही हुँदैन, यसले राम्रो परिपाटी बस्दैन’, उनले भने।
सदस्यहरुको चर्को विरोधपछि बैठकमा कार्कीले गरेको प्रस्तावमाथि थप छलफल हुन नसकी चुनावी समीक्षामा केन्द्रित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।