काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नयाँ अवसर प्राप्त भएकाले एकताबद्ध भएर अगाडि बढेर पार्टीको अभियानमा सहयोग पुर्यानउन आह्वान गरेका छन्।
रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विचार, परिवर्तन र पहिचानको प्रतीकका रुपमा रहेको रोल्पाली अभियानलाई बचाइराख्न एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, 'विचारसहितको नेतृत्व, संगठन र जनताबीचको विश्वास कायम रहेसम्म ठूलो परिवर्तन गर्न सकिन्छ।'
अध्यक्ष दाहालले धेरै अप्ठ्यारा दिनमा राजनीति र फौजी अभियानका बेला आफूले रोल्पाबाटै समस्या सुल्झाएको भन्दै रोल्पा विश्वव्यापी पहिचान बनेको बताए।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रोल्पाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अघि बढ्ने राजनीतिक परिवर्तनलाई पनि एकताबद्ध भएर सहयोग गर्नुपर्ने बताए।
प्रतिनिधिसभामा चितवनबाट निर्वाचित अध्यक्ष दाहाललाई रोल्पा–काठमाडौं सम्पर्क मञ्चले सम्मान गरेको थियो। त्यसैगरी, अध्यक्ष दाहालले रोल्पामा जन्मिएर देशका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेका थिए।
सम्मानित हुनेमा सभामुख कृष्णबहादुर महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती र जयपुरी घर्तीसहित प्रदेशसभा सदस्य कुलप्रसाद केसी, भावना सुवेदी, लालकुमारी पुन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्ती र राजकुमार कुँवर छन्। उनीहरु सबैको जन्मथलो रोल्पा हो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।