काठमाडौं- नेपाल धितोपत्र बोर्डको भावी अध्यक्षका लागि ५ जना 'सर्ट लिस्टेड' भएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको छनौट समितिले ८ जना आवेदकमध्येबाट ५ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो।
आवेन दिएकाहरुको व्यक्तिगत विवरण, कार्यानुभव आदिको मूल्यांकनबाट ५ जनाको अन्तिम सूची तयार गरिएको स्रोतले जनाएको छ। छनौट समितिले बोर्ड सञ्चालक समितिका विज्ञ सदस्य र दुई कर्मचारी सहित ५ जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ।
बोर्ड सञ्चालक समितिमा विज्ञ सदस्यका रुपमा रहेका भीष्मराज ढुंगाना तथा बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक डा नवराज अधिकारी अन्तिम सूचीमा परेका छन्। यसैगरी नेपाल स्टक एक्सचेन्जका पूर्व महाप्रबन्धक सिताराम थपलिया र डा केशव श्रेष्ठ पनि छनौटमा परेका छन्।
अध्यक्षका लागि बलियो ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएका व्यक्ति हुन्। केही महिनाअघि मात्रै अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा मनोनयन गरेका थिए। त्यतिबेला नै उनलाई भावी अध्यक्षका रुपमा हेरिएको थियो। गिरी बोर्डका कार्यकारी निर्देशक हुन्। उनी ५ वर्षअघि कार्यकारी निर्देशक भएका थिए।
अधिकारी उपकार्यकारी निर्देशक हुन् भने श्रेष्ठ व्यवस्थापनका जानकार हुन्। थपलियालाई तत्कालीन् अर्थमन्त्री डा रामशरण महतले नेपाल स्टक एक्सचेन्जमा महाप्रबन्धक बनाएका थिए। नुवाकोटका स्थायी बासिन्दा उनी नेपाली कांग्रेस निकटका हुन्।
असोज यता रिक्त रहेको बोर्ड अध्यक्ष छनौट खुला प्रतिस्पर्धाबाट गर्ने गरी अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो। बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ बमोजिम खुल्ला प्रतियोगिताबाट अध्यक्ष छनौटका लागि १५ दिने सार्वजनिक सूचना निकालेकोमा यो अवधिमा ८ जनाको आवेदन परेको थियो।
यसअघिका अध्यक्ष डा रेवतबहादुर कार्की गतअसोजमा आफ्नो ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बिदा भएका थिए। कार्की बोर्डबाट बिदा भएसँगै अर्थ मन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा राजश्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्सीय समिति गठन गरेको थियो।
बोर्डको भावी अध्यक्षका रुपमा पूर्वानुमान गरिएका २ जनाले भने आवेदन दिएनन्। बोर्डको भावी अध्यक्षका रुपमा हेरिएका नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्वअध्यक्ष टंक पनेरु र नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आवेदन नै दिएनन्।
छनौट भएका ५ जना बाहेक बोर्डकै पूर्व विज्ञ सदस्य निल सारु मगर, ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति र डा बलराम पाठकले पनि आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।