एजेन्सी- मलयालम फिल्मको एक गीतको भिडियो क्लिप आएपछि प्रिया प्रकाश वारियरको आँखाको इशाराको निकै चर्चा भयो। त्यसैबाट उनी इन्टरनेट दुनियाँमा भाइरल बन्दै डेब्यु फिल्म रिलिज हुनु अगावै सेलिब्रिटी बनिन्।
प्रियाको त्यही आँखा झिम्काइ अहिले भारतीय प्रहरीलाई एउटा विशेष उद्देश्यमा सहयोगी साबित भइरहेको छ। गुजरातको वडोदरा शहरको प्रहरीले सोसल मिडियामा सुरक्षित ड्राइभिङ अभियान चलाइरहँदा रमाइलो तरिकाले एउटा जनचेतनामूलक सन्देश सेयर गरेको छ। यस अभियानमा वडोदरा प्रहरीले 'भाइरल गर्ल' प्रिया वारियरको आँखा झिम्काइको शैली उपयोग गरेको छ।
उनको तस्बिर प्रयोग गरी बनाइएको उक्त सिर्जनशील अभियानको निकै चर्चा भइरहेको छ। वडोदरा शहरको प्रहरीले युवा पुस्तालाई ध्यान दिँदै सावधानी अपनाएर सवारी साधन चलाउने सन्देश दिएको छ। सिटी प्रहरीले सोसल मिडियामा प्रियाको आँखा झिम्क्याएको तस्बिरसहित जारी गरेको पोस्टरमा लेखिएको छ- 'पलक बन्द गर्नासाथै दुर्घटना हुन सक्छ। कतै ध्यान भंग नगरी सावधानी अपनाएर गाडी चलाउनुहोला।'
बडोदरा प्रहरीले युवा जमातलाई लक्षित गरी यस्तो शैलीको सूचना सामाजिक सञ्जालमा जारी गरेको यो पहिलो पटक भने होइन। प्रहरीले यसअघि पनि युवा वर्गसम्म सूचना पुर्याउन ट्विटर र फेसबुकको उपयोग गर्दै आएको छ।
सोसल मिडियामा मुम्बई र बेंगलुरु प्रहरीको यस्तै प्रकारको पहलकदमीपछि वडोदरा प्रहरीले युवाहरुसम्म सचेतनामूलक सन्देश पुर्यांउन सोसल मिडियामा आफ्नो उपस्थिति बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।