नयाँ दिल्ली (एजेन्सी)– कंगना रनौत शनिबार ३१ वर्षमा प्रवेश गरेकी छिन्। १७ वर्षको उमेरमा मन्डीबाट आफ्नो करिअरको सुरुवात गरेकी कंगना अहिले बलिउडकी चर्चित नायिकाको गिन्तीमा पर्छिन्।
कंगना बलिउडकी यस्ती अभिनेत्री हुन्, जो स्टारडमका कारण नभई साधारण र मन छुने अभिनयका कारण चर्चित छिन्।
हिमाञ्चल प्रदेशको सानो शहरबाट उनले फिल्मी करिअरको सुरुवात गरेकी हुन्। कंगनाले २००६ मा सार्वजनिक भएको फिल्म ‘ग्यांगस्टर’ बाट आफ्नो करिअरको सुरुवात गरेकी थिइन्। अहिले उनी झाँसीकी रानीको बायोपिकमा अभिनय गरिरहेकी छिन्। उनको आगामी फिल्म ‘मेटल’को पोस्टर पनि सार्वजनिक भएको छ।
कंगनासँग जोडिएका १० विशेष कुरा
१. कंगना रनौत हिमाञ्चल प्रदेशको मन्डीस्थित भाङ्बलामा जन्मिएकी हुन्। स्वतन्त्र विचारधारा र आफ्नो कुरामा अडिग रहने स्वभावका कारण उनका बुवा उनलाई ‘लेडी डायना’ भनेर बोलाउने गर्थे।
२.कंगनाको पढाई चण्डीगढमा भएको हो। उनी पहिलेदेखि नै छुृट्टै केही गर्न चाहन्थिन्। त्यसैले उनी १७ वर्षको उमेरमा राजधानी नयाँ दिल्ली आइसकेकी थिइन्। दिल्लीमा उनी अरविन्द गौडसँग नाटक सिक्ने गर्थिन्।
३. कंगनाले आफ्नो पहिलो फिल्म ‘ग्यांगस्टर’का लागि २० वटा अडिसन दिनु परेको थियो।
४. २००८ मा उनी मधुर भन्डारकरको फिल्म ‘फेशन’ मा देखा परिन्। यो फिल्मबाट उनी उत्कृष्ट सहयोगी अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भइन्।
५. कंगनालाई खाना पकाउने निकै सौख छ। उनी कविता पनि लेख्छिन्। योगा र पढाइमा पनि उनको उत्तीकै रुची छ।
६. कंगना बलिउडको महंगो नायिकामा पर्छिन्। सुत्रका अनुसार उनी एउटा फिल्ममा अभिनय गरेको ११ करोडसम्म लिने गर्छिन्।
७. कंगनाको ‘रास्कल’ र ‘गेम’ जस्ता फिल्म सुपरफ्लप भएको थिए। उनको भनाइ अनुसार उनले यी दुई फिल्म आफ्नो ऋणको ‘ईएमआई’ चुक्ता गर्न गरेकी थिइन्।
८. कंगनालाई उत्ति साह्रो पुरस्कार समारोहमा उपस्थित हुन मन लाग्दैन तर उनी सेटमा समयमै पुग्ने गर्छिन्।
९. कंगनालाई २०१४ मा रिलिज भएको फिल्म ‘क्विन’ र २०१५ मा रिलिज ‘तनु वेड्स मनु रिटन्र्स’ का लागि उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो।
१०. ‘वो लम्हे’, ‘लाइफ इन अ..मेट्रो’ ,‘फेसन’, ‘राज’, ‘तनु वेड्स मनु १,२’ र ‘क्वीन’ मा उत्कृष्ट अभिनय गरेका कारण बलिउडमा उनको स्थान छुट्टै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।