काठमाडौं- टोखा–छहरे सुरुङ निर्माणको अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएको छ। गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताj राखिएको थियो।
राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए। सोही अनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएको हाे।
काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रुपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ। चिनियाँ प्राविधिकहरू शुक्रबार बिहानै फिल्ड सर्भेका लागि टोखा पुगेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।
उक्त टोलीले एक महिना लगाएर सुरुङमार्गको स्थलगत अध्ययन गरि प्रतिवेदन तयार पार्ने उनको भनाइ छ। नेपाली र चिनियाँ इन्जिनीयरले सयुक्त रूपमा सर्भे गर्नेछन्। नेपाल–चीनबीच भएको सम्झौताअनुसार सुरुङमार्गको फिल्ड सर्भेका लागि चिनियाँ टोली नेपाल आएको हो।
प्राविधिक टोलीले सुरुङमार्गको सुरु हुने र निस्कने ठाउँको अवलोकन तथा नापजाँच गर्ने छन्। नापजाँच सकेपछि टोली स्वदेश फर्किएर रिपोर्ट तयार पार्ने गरी नेपाल आएका हुन्। उक्त टोलीले २०२० मार्चसम्ममा प्रतिवेदन तयार गरी चीन सरकारलाई बुझाउने छ। सो रिपोर्ट चीन सरकारले औपचारिक रूपमा नेपाललाई उपलब्ध गराउनेछ।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका प्रमुखसहित जियोलोजी, टनेल र हाइवे इन्जिनियरलगायत टोलीमा छन्। सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत यो सुरुङमार्गलाई प्राथमिकतामा राखेको छ। यो आर्थिक वर्षमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ।
टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा तर्फ निस्कने छ। बिस्त्रित अध्ययनपछि नुवाकोटतर्फको विन्दू तय हुनेछ। सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ।
वेत्रावतीबाट रसुवागढीसम्म एसियाली मापदण्ड अनुसारको डबल लेन सडक निर्माण भइरहेको छ। सडक र सुरुङमार्ग निर्माण गर्न सके रसुवागढी सबैभन्दा छोटो दूरीमा पुग्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।