राजविराज- जोगबनी नाकास्थित नेपाल–भारत जोड्ने पुल मर्मत सुरु भएपछि सवारी साधन आवतजावत बन्द हुँदा सप्तरी लगायतका पूर्वी जिल्लामा कोशी ग्याँसको अभाव भएको छ ।
सप्तरीको राजविराजस्थित कुमार ग्याँस स्टोरका प्रोपाईटर राजेशकुमार कर्णका अनुसार गत पुस २ गतेपछि कोशी ग्याँस भित्रिएको छैन। स्टकमा भएको ग्याँस सकिएपछि एक साताअघि देखि ग्राहकलाई रित्तो हात फर्काउनु परेको उनले जानकारी दिए।
करिब ३० हजार ग्राहकलाई कोशी ग्यासको आपूर्ति गर्दै आएको कुमार ग्याँस स्टोरमा हाल हजारौं ग्याँसका सिलिन्डर लाईनमा छन्। ‘हामीले ३ हजार सिलिन्डर ग्याँसको डिमान्ड गरेका थियौं,’ कर्णले भने, ‘त्यतिमात्रै आएपनि राहत पुथ्यो। स्टक नै रित्तिएकाले हैरान भो।’
सप्तरीको कञ्चनपुर, फत्तेपुर, भारदह, कल्याणपुर, वोदेबरसाईन, कदमाहा लगायतका स्थानमा पनि ग्याँस अभाव भएको स्थानीयले जानकारी दिएका छन्।
यता, पुल मर्मतका कारण अवरुद्ध भएको सामान नेपाल भित्र्याउन अर्थ मन्त्रालयले ‘रुट डाइभर्ट’ गर्ने सहमति दिएको छ। जोगबनी हुँदै नेपाल भित्रिने सामान सुनसरी भन्सार कार्यालय हुँदै नेपाल भित्र्याउने गरी ‘रुट डाइभर्ट’ गर्ने सहमति दिइएको हो।
पुल मर्मतको काम सम्पन्न हुन अझै १५ दिनभन्दा धेरै समय लाग्ने देखिएपछि ‘रुट डाइभर्टको निर्णय गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए। अवरुद्ध ट्रक तथा कन्टेनर सुनसरी भन्सार हुँदै नेपाल प्रवेश गर्नेछन् ।
भारतबाट आयात हुने वस्तुको चेकजाँच सुनसरीमा र तेस्रो मुलुकबाट आयात हुने सामान (थर्ड कन्ट्री कार्गो) भन्सार विभाग र सशस्त्र प्रहरीले स्टर्किङ गरेर विराटनगर नै लैजाने र त्यहाँबाट चेकजाँच गर्ने गरी निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।