काठमाडौं- विराटनगरस्थित नेपाल-भारत जोड्ने मिरगञ्ज पुल मर्मत सुरु भएपछि अवरुद्ध व्यापार सहजीकरण गर्न सरकारले 'रुट डाइभर्ट'को सहमति दिएको छ। पुल मर्मतका कारण सवारी साधन आवाज जावत बन्द हुँदा दुई देशबीचको व्यापार अवरुद्ध भएपछि रुट परिवर्तन गरी सुनसरीबाट सामान भित्र्याउने अनुमति दिइएको हो।
अर्थ मन्त्रालयले बिहीबार दिउँसो निर्णय गर्दै जोगवनी हुँदै नेपाल भित्रिने सामान सुनसरी भन्सार कार्यालय हुँदै नेपाल भित्र्याउने गरी रुट डाइभर्ट गर्ने सहमति दिएको हो। दैनिक ३ सयसम्म ट्रक, कन्टेनर यो बाटो हुँदै नेपाल भित्रने गरेकोमा केही दिनयता बाटो अवरुद्ध हुँदा दुई देशको व्यापार नै ठप्प भएको छ।
'पुल मर्मतको काम सम्पन्न हुन अझै १५ दिन भन्दा धेरै समय लाग्ने देखियो, त्यो अवधिमा नेपाल प्रवेश गर्न खोज्ने ३ हजार भन्दा धेरै ट्रक भारतमै अड्किने अवस्था आएपछि रुट डाइभर्टको निर्णय गरिएको छ,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने। सुनसरी भन्सारमा तत्काल थप कर्मचारी पठाउने र उनीहरुबाट सहजीकरण गराउने गरी व्यवस्थापनको निर्णय भएको उनले जानकारी दिए।
भारतबाट आयात हुने वस्तुको चेकजाँच सुनसरीमा नै हुने व्यवस्था भए पनि तेस्रो मुलुकबाट आयात हुने सामान (थर्ड कन्ट्री कार्गो) भन्सार विभाग र सशस्त्र प्रहरीले स्टर्किङ गरेर विराटनगर नै लैजाने र त्यहाँबाट चेकजाँच गर्ने गरी निर्णय भएको छ। यसअनुसार त्यस्ता कार्गोको चेकजाँच सुनसरीमा हुने छैन भने भारतबाट आयातित सामानको चेकजाँच भने सुनसरीमा नै हुनेछ।
मिरगञ्ज पुलबाट यातायात अवरुद्ध भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका धेरै उद्योगका कच्चा पदार्थ आयात रोकिँदा औद्योगिक गतिविधि नै ठप्प हुने अवस्था आएपछि सरकारले यस्तो निर्णय गरेको हो। विराटनगर भन्सारबाट व्यापारिक गतिविधि बन्द हुँदा सरकारले राजस्व लक्ष्यमा थप दबाब परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।