काठमाडौं– नेपाल स्टक एक्सचेन्जले बुधबार (पुस ९) पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) मार्फत् संस्थागत ऋणपत्रको २ वटा कारोबार गरेको छ। नेप्सेले सञ्चालन गरेको यो प्रणालीमार्फत् यसअघि धितोपत्रको मात्र कारोबार हुने गरेकोमा बुधबारबाट ऋणपत्रको पनि कारोबार सुरु भएको हो।
नेप्सेका अनुसार बुधबार भएको ती कारोबारमा पहिलो ‘एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१’ बिक्रेता र ‘एनएमबी हाइब्रिड फण्ड’ खरिदकर्ता रहनेगरी १० प्रतिशत ‘सानिमा डिभेन्चर–२०८५’ को २५ हजार कित्ता ऋणपत्र किनबेच गरिएको छ। त्यसैगरी, दोस्रो कारोबारमा ‘एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१’ बिक्रेता र ‘एनएमबी ५०’ खरिदकर्ता रहनेगरी १० प्रतिशत सानिमा डिभेन्चर २०८५ को २५ हजार कित्ता ऋणपत्र किनबेच भएको हो।
यी दुई कारोबारबाट जम्मा ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता ९ सय ६३ का दरले ४ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको हो। यसअघि गत असार १ गते दुईवटा कारोबारमा १० प्रतिशत सानिमा डिभेन्चर २०८५ को ४२ कित्ता ऋणपत्र किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।