काठमाडौं- भूकम्पपछिको पूर्ननिर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ।
आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो।
सेजनको प्रतिवेदनअनुसार अहिले पनि साढे ५ लाख जनशक्ति आवास पुर्ननिर्माणको काममा संलग्न रहेको देखाएको छ। यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।
कूल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिले पनि पूर्ननिर्माणको क्षेत्रमा कार्यरत रहेका छन्। प्रतिवेदन अनुसार भूकम्पले क्षति पुर्याएका ६१ प्रतिशत नीजि घरहरुको पूर्ननिर्माण सम्पन्न भएको छ। सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ। प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवन र सांस्कृतिक सम्पदाको पुर्ननिर्माणमा ध्यान दिन सुझाव दिएको छ।
राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रबन्ध निर्देशक सुशील ज्ञवालीले अहिलेको कार्यरत जनशक्तिलाई भोलि कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताए। सेजनको अध्ययन प्रतिवेदनले भूकम्पपछिको पूर्ननिर्माणले नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।