काठमाडौं- रोजगारीको खोजीमा मंसिर महिनामा ५६ हजार ८ सय १० जना नेपाली विदेशीएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ५६ हजार श्रमिक विदेशीएका हुन्।
वैदेशिक रोजगार विभागको मंसिर महिनाको तथ्यांक हेर्दा साउदीमा युवाहरु जाने क्रम बढेको छ। साउदीमा सबैभन्दा बढी १४ हजार ३ सय ५७ जना गएका छन्। साउदीपछि युवाहरुको रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) परेको छ। युएईमा १३ हजार २ सय ४४ युवाहरु गएका छन्।
युवाहरुको रोजाइको तेस्रो मुलुकमा कतार परेको छ। कतारमा १२ हजार ९ सयभन्दा बढी युवाहरु पुगेका छन्।
झण्डै १६ महिना बन्द रहेको मलेसिया खुलेपनि मलेसिया जाने श्रमिकको संख्या कम देखिएको छ। मलेसिया रोजगारीका लागि ८ हजार ७ सय ७३ जना श्रमिकहरु गएको विभागको तथ्यांकले देखाउँछ।
मलेसियाबाट डिमाण्ड ल्याउन कठिन भइरहेकाले ठूलो संख्यामा युवाहरु मलेसिया पठाउन नसकेको एक म्यानपावर व्यवसायीले बताए। वैदेशिक रोजगार विभागले भने मलेसियाको मागपत्र प्रमाणीकरण लगायत विभिन्न काम भइरहेकाले यो संख्या अबका महिनामा बढ्दै जाने जनाएको छ।
बहराइन, ओमान, कुवेत, इजिप्ट, रसिया, टर्की, दक्षिण कोरियालगायत मुलुकमा समेत रोजगारीको खोजीमा युवाहरु जाने गरेका छन्। सीप तथा योग्यता नभएका ठूलो संख्यामा नेपाली युवाहरु मलेसियालगायत खाडी मलुकमा जाने गरेका छन्।
मंसिर महिनामा १३ हजारभन्दा बढी अदक्ष श्रमिक विदेशीएका छन्। साधारण सीप भएका १९ हजार श्रमिक विदेशीएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अदक्ष हुँदा उनीहरुले सस्तो पारिश्रमिकमा कठिन काम गर्न बाध्य हुने गर्छन्। सरकारले श्रमिकलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारीमा पठाउने तयारी गरिरहेकाे जनाएकाे छ।
सम्बन्धीत कामका लागि तालिम दिएर मात्रै वैदेशिक रोजगारीमा पठाउने नीति सरकारले ल्याएको छ तर त्यसलाई कार्यान्वयनमा भने ल्याउन सकिएको छैन। यस वर्ष वैदेशिक रोजगार बोर्डले १५ हजार युवाहरुलाई निःशुल्क तालिम प्रदान गरी वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।