काठमाडौं- राजस्व चुहावट तथा विदेशी मुद्राको विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन फर्मका सञ्चालकविरुद्ध ११ करोड ८१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार रुपन्देही बुटवल नगरपालिका-१२ मा रहेको श्रीराम टोबाको उद्योगसमेतलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ। टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
कम्पनीका संचालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मासमेतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टिकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको छ।
कम्पनीले श्यामलाल बन्जाडे ट्रेड सेन्टरका प्रोपाइटर श्यामलाल बन्जाडे, जय महालक्ष्मी जनरल स्टोर्सका प्रोपाइटर गोपीकृष्ण गैरे, नव अन्नपूर्ण स्टोर्सका प्रोपाइटर राजकुमार जयसवाल, शनी स्टोर्सका प्रोपाइटर नारायणप्रसाद श्रेष्ठ र एलजी ट्रेड सेन्टरका प्रोपाइटर लक्ष्मण ज्ञावलीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। श्रीराम टोबाकोमाथि १० करोड ३२ लाख र अन्य ५ वटा फर्मले ४० लाख ७७ हजार रुपैयाँ समेत गरी बिगो १० करोड ७३ लाख रुपैयाँ कायम गरिएको छ।
यसैगरी, झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छली गर्ने न्यू लालिगुराँस इन्टरप्राइजेजका प्रोपाइटर कमलप्रसाद तिवारीलगायत विरुद्ध ५९ लाख ३४ हजार बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। यो कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली बिजक देखाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यस्तै, भारतीय नागरिक अस्फक मिर्जाविरुद्ध विदेशी विनिमय अपचलन गरेको भन्दै ४८ लाख ७८ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ। उनी विरुद्ध बिगोको तेब्बर जरिवाना र ३ वर्ष कैद मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।