काठमाडौं- नक्कली कागजातको आधारमा घुस लिएर विदेशका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधाराका प्रमुख सुन्दर भट्टराईसहित ४ जना धरौटीमा रिहा भएका छन् । विशेष अदालतले कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेललाई जनही २ लाख धरौटीमा रिहा गरेको हो ।
भ्रष्टाचार मुद्दामा मुछिएका लेखापढी गर्ने राजु सेढाईं भने ८० हजार धरौटीमा छुटेका छन् । ५० लाख ४ हजार ८ सय ५० रुपैयाँमा विदेशी लाइसेन्सलाई नेपालीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित चार जना विरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएको भोलिपल्टै उनीहरु अदालतबाट धरौटी बुझाउँदै साधारण तारेखमा रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार वैद्य श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।


यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधाराका प्रमुख भट्टराईसहित कर्मचारीहरुले यातायात व्यवस्था कार्यालय सुकेधारामा विदेशी सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा गलत लिखत तयार गर्दै सम्बन्धित राजदूतावास तथा कन्सुलर सेवा विभागको पत्र, भीसा, सवारी चालक अनुमतिपत्र लगायत कागजातहरु यकिन नगरी चालक अनुमतिपत्र दिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । नक्कली कागजातको आधारमा उनीहरुले जनही ५० हजार रुपैयाँभन्दा बढी रकम लिँदै ८ सय ५५ जनाको विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिएको आरोपपत्रमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।