काठमाडौं- जापानी कार उत्पादकको छत्रछायाँ रहेको भारतीय कार बजारमा अब भने परिदृश्य फेरिँदै गएको छ। विगतमा जापानी कार उत्पादक मारुती सुजुकी, होन्डा, टोयोटा किर्लोसकरको ठूलो बजार हिस्सा मात्र थिएन, उपभोक्ताको विश्वासको ब्रान्ड पनि थियो।
भारतीय बजारमा जापानी कार उत्पादक कम्पनी सुजुकीले साझेदारी गरेर कार उत्पादन थालेयता मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार उत्पादकको रुपमा रहँदै आएको छ।
त्यस्तै अर्को जापानी कम्पनी टोयोटाले पनि भारतमा स्थानिय साझेदारसँगको समन्वयमा टोयोटा किर्लोसकरका नाममा उत्पादन गर्दै आएको छ। केही समयअघिसम्म प्रिमियम ब्रान्डको रुपमा टोयोटाका कार उल्लेख्य बिक्री थियो। हाल टोयोटाको बिक्रीमा कमी आएसंगै केही मोडलमा मारुती सुजुकीसँग समन्वय गरेर टोयोटाले कार बिक्री गरिरहेको छ।
त्यस्तै जापानी कम्पनी होन्डाको उपस्थिति पनि भारतीय बजारमा राम्रो रहेको छ। तर अब भने भारतीय कार बजारमा नयाँ अवस्था देखिएको छ। कोरियाली कार उत्पादक र चिनियाँ कार उत्पादक कम्पनी आक्रामक रुपमा भारतीय बजारमा प्रवेश गरेका छन्।
कोरियाली कम्पनी हुन्डाई २००२ मै भारत प्रवेश गरेको थियो। त्यस्तै हुन्डाईको अर्को ब्रान्ड किया समेत अहिले भारतमा प्लान्ट नै स्थापना गरेर आक्रामक बजार बिस्तारमा लागेको छ। नयाँ कार उत्पादकहरुले परम्परागत मोडलका कार भन्दा परिस्क्रित मोडल उत्पादनमा जोड दिएका छन्।
विगतमा ह्याचब्याक, सेडान र एसयुभी कार उत्पादन हुन्थ्यो। तर अहिले क्रसओभर, कम्प्याक्ट सेडान, कम्प्याक्ट एसयुभी, माइक्रो एसयुभी, कुपेलगायत विभिन्न मोडलका कार उत्पादन हुन थालेका छन्। पछिल्लो समय संसारभरका उपभोक्ताको रोजाईमा कम्प्याक्ट एसयुभी नै हुने गरेको छ। चिनियाँ कम्पनीहरु भारतीय कम्पनीसंगको सहकार्यमा प्रवेश गरिरहेका छन्।
त्यतिमात्र होइन चिनियाँ कम्पनी एसआइएले बेलायती ब्रान्ड एमजी खरिद गरेको थियो । एसआइए एमजी हेक्टर लिएर भारतीय सवारी बजारमा उदाइ सकेको छ। त्यस्तै कियाले पनि सेल्टोस कार बजारमा उतारिसकेको छ। २०१८ मा भारतीय बजामरा चिनियाँ कारको बजार हिस्सा १६ प्रतिशत रहेकोमा २०२२ सम्ममा यो बढेर चौथो स्थानमा पुग्ने अनुमान गरिएको द इकोनामिक टाइम्सले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।