काठमाडौं- सरकारले बैंक तथा वित्तीय संस्थामा निष्कृय रहेका बैंक खाताहरुको खोजी गर्न थालेको छ। अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै बैंक तथा वित्तीय संस्थामा निष्कृय रहेका ती खाताको खोजी गर्न भनेको हो।
अर्थ मन्त्रालयले केही दिनअघि उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकबाट निर्णय गर्दै अर्थले निष्कृय रहेका व्यक्ति तथा संस्थाको खाताको विवरण पठाउन राष्ट्र बैंकलाई भनेको हो। 'हामीले यहाँको निर्णय राष्ट्र बैंकलाई जानकारी गराइसकेका छौँ,' स्रोतले भन्यो, 'उहाँहरुले केही दिनमा पठाउनु होला।'
अर्थ मन्त्रालयले व्यक्ति र संस्था दुवैको निष्कृय खाताको विवरण पठाउन भनेको छ।
अर्थ मन्त्रालयले त्यसरी निष्कृय रहेक खाताको विवरण संकलन गरेर के गर्ने भन्ने विषय भने राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख गरेको छैन। 'अहिलेलाई विवरणमात्रै माग गर्ने निर्णय भए अनुसार पत्र पठाइएको छ, त्यसलाई के गर्ने भन्ने विषयमा निर्णय भएको छैन।'
बैंक तथा वित्तीय संस्थामा लगातार ६ महिनासम्म कुनै कारोबार नभए त्यस्तो खाताबाट रकम झिक्न सम्बन्धित बैंकले रोक लगाउँछ। त्यसैगरी कुनै व्यक्तिले आफ्नो खाता २ वर्षसम्म लगातार सञ्चालन नगरेमा बैंकले पूर्ण रुपमा रोक्का राखिदिन्छ। त्यस्ता खाता फेरि सञ्चालन गर्नुपरेमा सम्बन्धित व्यक्ति बैंकमा गएर नागरिकताको प्रतिलिपि बुझाएर नो योर कस्टोमर (केवाइसी) फारम भर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।