काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको चौमासिक बजेट खर्च, बजेट खर्चमा देखिएका समस्या र भावी रणनीतिबा विषयमा विभिन्न मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सुरु गरेका छन्।
अर्थमन्त्री खतिवडाले सोमबारबाट प्रत्येक मन्त्रालयलाई १ घण्टाका दरले समय उपलब्ध गराउँदै आफैँ बसेर छलफल थालेका हुन्। छलफलमा सम्बन्धित मन्त्रालयका सचिव नेतृत्वको टोली र अर्थमन्त्रीसँगै अर्थसचिव डा राजन खनाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रामशरण पुडासैनी, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्रीलगायत बस्ने गरेका छन्।
चालु आर्थिक वर्षको पहिलो चौमासिक बजेट खर्च अपेक्षित नभएपछि अर्थमन्त्री खतिवडा आफैँले मन्त्रालयका अधिकारीहरुलाई बोलाएर छलफल थालेका हुन्। 'छलफलमा पैसा नभएर काम भएन भन्ने गुनासो छैन,' एक सहभागीले भने, 'हरेक मन्त्रालयले कार्ययोजना बनाएर काम गरिरहेको बताएका छन्, तर उपलब्धि किन देखिएन भन्ने अर्थ मन्त्रालयको प्रश्न रहने गरेको छ।'
विषयगत मन्त्रालयका प्रतिनिधिले चालु वर्षको पहिलो चौमासिकमा चाडपर्व परेको, आयोजना कार्यान्वयनका लागि गृहकार्य गरिएको र दोस्रो चौमासिकमा खर्च हुने जवाफ दिइरहेका छन्। तर अधिकांश आयोजना बहुवर्षे प्रकृतिका रहेको र पहिल्यै ठेक्का लागिसकेको भए पनि तिनीहरुको नतिजा सन्तोषजनक छैन।
केही दिनअघि संसदको अर्थ समितिले पनि चौमासिक बजेट खर्चको समीक्षा गरेको थियो। अर्थमन्त्री खतिवडा समेतलाई बोलाएर गरिएको छलफलमा मन्त्री खतिवडाले अपेक्षाकृत सफलता हासिल नभएको स्वीकार गरेका थिए। उनले निर्माण सामग्री उत्खननमा समस्या रहेको भन्दै यसले पनि विकासको प्रक्रिया प्रभावित पार्न सक्ने बताएका थिए।
सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३२ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको भए पनि समग्र खर्च २० प्रतिशत मात्रै भएको थियो। त्यसमा पुँजीगत खर्च छन् कमजोर देखिएको थियो। मन्त्री खतिवडाले सोमबार सहरी विकास मन्त्रालयसहितका ४ मन्त्रालयसँग ४ घण्टा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।