काठमाडौं- २०७१ चैत २ गते जुम्ला खलङ्गाबाट कालिकोटको नग्माका लागि छुटेको बस जुम्लाको साविक रारालिही गाविसस्थित डोकोलोटौमा दुर्घटनामा पर्याे। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए।
दुर्घटनाको छानबिन गर्न मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनायलका क्षेत्रीय निर्देशक मुक्ति गौतमको संयोजकत्वमा छानबिन समिति गठन भयाे। मन्त्रिपरिषद्को २०७१ मंसिर १४ गतेको निर्णयअनुसार सडक दुर्घटना भएको स्थानमा कार्यरत सम्बन्धित निकायका पदाधिकारीहरु रहेको सडक दुर्घटना छानबिन समिति स्वतः गठन हुने र उक्त समितिले सडक दुर्घटना भएको १५ दिनभित्र भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त समिति बनेको थियो।
समितिका सदस्यहरुमा जुम्ला सकड आयोजना प्रमुख सिरबहादुर घिमिरे, मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक भोजजंग शाह, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि धनकृष्ण न्यौपाने र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय कर्णालीका प्रमुख उमेश बस्नेत थिए।
दुर्घटनामा परेको ना४ख ४९७० नम्बरको बस किन र कसरी दुर्घटना भयो? भन्ने सम्बन्धमा समितिले सरकारलाई सिफिरिस गरेको थियो। स्थानिय प्रशासन, प्रहरी सेना, घाइतेलगायसंगको सोधपुछ तथा अन्तरक्रियापछि समितिले कारण निक्याैल गरी कारबाही सफिरिस गरेको हो।
दुर्घटनाको ४ कारण
-बसको टाइ रड बिग्रिएर बस अनियन्त्रित भइ दुर्घटना भएको।
-बसको स्टेरिङ फेल भइ बस अनियन्त्रित भइ दुर्घटना भएको।
-बसको ब्रेक फेल भइ बस अनियन्त्रित भएको।
-बसको स्पिड अतिनै धेरै भइ चालकले बस नियन्त्रण गर्न नसकेकाले दुर्घटना भएको।
बसका चालक तथा परिचालक दुवैको घटनामा मृत्यु भएकाले टाइ रड बिग्रिएको, स्टेरिङ फेल, ब्रेक फेल भएको बारे एकिन गर्न सकिएन, तर बसको गति अत्यन्त बढी भएको बारे दुर्घटनाका घाइतहरुको भनाइबाट बुझिएको हो।
दोषीमाथि कारबाही सिफारिस
दुर्घटनाको प्रकृति हेर्दा बसको गति तीव्र भएका कारणले बसलाई नियन्त्रणमा लिन नसक्दा सडकबाट नदी किनारमा खसी दुर्घटना भएको देखिँदा सवारी चालक सागर भन्ने सिंहवीर बुढा नै मुख्य दोषी ठहरिन्छन्। निजको घटनास्थलमा मृत्यु भइसकेको हुँदा कारबाही गर्ने स्थिति रहेन। निज सागर बुढाले लिएको सवारी चालक अनुमति पत्रको अभिलेख सम्बन्धित कार्यालयमा नभिडेको हुँदा यस सम्बन्धमा छानबिन हुनुपर्ने देखिन्छ।
समितिले कर्णाली राजमार्गमाको सन्दर्भमा भविष्यमा दुर्घटना हुन नदिन चाल्नुपर्ने कदमहरु समेटेर सुझाव दिएको छ।
अल्पकालीन सुझावहरु
-निर्माणाधिन सडक भएकाले सवारीसाधनको गति सडकको अवस्था हेरी १५ देखि २० किमि प्रतिघण्टा सीमित गर्ने सूचना ठाउँठाउँमा टाँस्नु पर्ने।
-रोड सेफ्टी मेजर सडक निर्माणसँगै राख्दै जाने।
-पुराना, कमजोर र अन्यत्रबाट विस्थापित सवारी साधनलाई कर्णाली राजमार्गमा संचालनमा रोक लगाउनु पर्ने।
-सवारी चालकलाई सडकको अवस्था, दुर्घटनाका कारक तत्व, दुर्घटनाबाट हुने क्षतिको आयतन, ट्राफिक नियम अनुशानसको पालना आदि बारे सवारी चालकलाई जिम्मेवारी बोध गराउन अभिमुखिकरण, सचेतना तालिम यातायात व्यवस्था कार्यालय कर्णाली जुम्ला, ट्राफिक प्रहरी र यातायात व्यवसायी संस्थाहरुले संयुक्त आयोजना गर्ने।
-ठूलो स्वरमा बसभित्र गीत बजाउन प्रतिवन्ध गर्ने।
-ट्राफिक प्रहरीलाई स्रोत साधन सम्पन्न बनाइ दरबन्दी संख्यामा वृद्धि गरी राजमार्ग गस्तीको व्यवस्था गर्ने।
-सडक मोडले इलुजन खडा गरेको स्थानमा सो इलुजन हटाउने मेजर राख्ने।
दीर्घकालीन सुझाव
-सावरी चालक अनुमतिपत्रलाई व्यवसायिक र गैरव्यवसायिकमा वर्गीकरण गरी सबै यात्रुबाहक सार्वजनिक सवारी चलाउनेलाई व्यवसायिक चालक अनुमतिपत्र अनिवार्य गर्नुपर्ने।
-व्यवसायिक अनुमति लिन ट्राफिक नियम, अनुशासन, सवारी चालकको कर्तव्यबोध, जिम्मेवारी बोध तथा परिपक्वताका लागि उमेर हद, निश्चित शिक्षा तथा तालिम प्राप्त गरेको हुनुपर्ने र सोको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने।
-सबै सवारी साधनहरुको सडकमा गुड्न सक्ने अवस्थाको परीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने, भेइकल फिटनेस टेस्ट सेन्टर सबै विकास क्षेत्रमा विस्तार गर्ने।
-सम्बन्धित निकायद्वारा ट्राफिक जनचेतनामुलक कार्यक्रम नियमित रुपमा संचालन गरी सशक्त बनाउनु पर्ने।
-तोकिएको गतिभन्दा बढी स्पिडमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोबाइल फोनमा कुरा गर्दै सवारी चलाउने चालकलाई कडा दण्ड सजायको व्यवस्थाका लागि कानुनमा सुधार गर्ने।
'कर्णाली राममार्गमा यातायात सुचारु भए पश्चात साना ठूला गरी यो प्रतिवेदन तयार पार्दासम्म १ सय ५९ वटा दुर्घटना भएको थियो। धेरै जसो स्थानमा सडक भीरबाट गएको हुँदा दुर्घटना हुने वित्तिकै ठूलो धनजनको क्षति हुने अवस्था छ। कर्णाली राजमार्गको सडकको चौडाई ४.५ मिटरमात्र रहेका कारण सवारी साधन अलिकती दायाँबायाँ हुने वित्तिकै दुर्घटना हुने अवस्था छ। तसर्थ सवारी चलाउने चालक हर हमेशा चनाखो हुनुपर्ने छ र सवारी साधनको गती आफ्नो नियन्त्रण भित्र राख्न जरुरी छ।' प्रतिवेदनमा भनिएकाे छ, 'कर्णाली राजमार्ग ठूला भीर भएर जाने भएकाले दुर्घटना हुने वित्तिकै सवारी साधन भीरबाट तल खसी ठूलो धनजनको क्षति हुने देखिन्छ। यस अवस्थामा दुर्घटना भइ हाले पनि सवारी साधनहरुलाई भीरबाट खस्नबाट जोगाउन ट्राफिक सेफ्टी व्यारियर, क्रास व्यारियर लगायत राख्नु गर्ने देखिन्छ।'
सम्बन्धित थप समाचार
बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन प्रतिवेदन, यस्तो थियो कारण र सुझाव
कोरम नपुगेर १५ मिनेटमा ३ बैठक, मन्त्रीलाई दुर्घटना न्यूनीकरणभन्दा भेटघाट प्यारो
धादिङ मार्पाक दुर्घटना : छानबिन समितिको प्रतिवेदन ३ वर्षसम्म मन्त्रालयकै दराजमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।