काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। पार्टीका अनुसार बैठक आइतबार साँझ ८ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठकमा वर्तमान राजनीतिक परिस्थितिसहित पार्टीका विभिन्न गतिविधिबारे समीक्षा गरिने जानकारी दिएका छन्। साथै, अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूमा पदाधिकारी मनोनयनका विषयमा पनि निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।
बैठकको कार्यसूचीमा अनुसन्धानात्मक कारबाहीसँग सम्बन्धित विषयहरू पनि समावेश गरिएको छ। यसका अतिरिक्त प्रदेश अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गत गठन गरिने उपसमितिहरू तथा महाधिवेशन निर्वाचन कार्यविधिबारे छलफल हुने तयारी गरिएको छ।
पार्टी विधान संशोधन, संघीय सांसदहरूको संगठनात्मक जिम्मेवारी निर्धारण तथा आगामी महाधिवेशनसँग सम्बन्धित व्यवस्थापकीय विषयहरू पनि बैठकका प्रमुख एजेन्डामा रहेका छन्।
यस्तै, जिल्ला अधिवेशन कार्यविधिमा आवश्यक संशोधनका विषयमा समेत छलफल हुने जनाइएको छ। प्रदेश, जिल्ला तथा पालिका तहका अधिवेशनमा पदाधिकारी पदका उम्मेदवारमध्ये २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिलाई एक तह माथिको अधिवेशनमा प्रतिनिधित्वको अवसर दिने प्रस्तावबारे पनि बैठकमा विचार(विमर्श हुने बताइएको छ।
संगठनात्मक संरचना, अधिवेशन प्रक्रिया र आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत तथा प्रक्रियागत विषयमा सचिवालय बैठक केन्द्रित रहने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।