काठमाडौं- विसं २०७१ असोज २७ गते काठमाडौंको बबरमहलमा ४ वटा मोटरसाइकल र एउटा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र १ जना घाइते भएका थिए। त्यस्तै सोही वर्ष कार्तिक २८ गते चितवनको दारेचोक–९ स्थित फिस्लिङमा कार र ट्रक ठक्कर खाँदा ४ जनाको मृत्यु र १ जना गम्भीर घाइते भए।
यी दुई दुर्घटनाको छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्तिक २८ गते छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे र सदस्यहरुमा यातायात व्यवस्था विभागका निर्देशक इन्द्रकुमारी थपलिया, सडक विभागका सिडिइ विजयकुमार महतो, ट्राफिक प्रहरी महाशाखाका डिएसपी मोहनप्रसाद खरेल, प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका इन्स्पेक्टर प्रमे जोशी, यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर गोगनबहादुर हमाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका दुईजना धर्मराज रिमाल र निरत्न नेवाः र सदस्य सचिवमा मन्त्रालयका शाखाअधिकृत सोमराज बराल थिए।
उक्त अध्ययन प्रतिवेदनमा कोर सिटीमा तथा चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा सवार गर्ने यात्रुहरुको अत्याधिक चापले गर्दा दुर्घटना बढी रहेको देखिन्छ। सवारी दुर्घटनाका कारण मुख्यतया सकडको अवस्था, सवारी साधनको अवस्था, चालक, सहचालककाे क्षमता तथा व्यवहार, यातायात अनुगमन गर्ने निकायबाट निरन्तर अनुगनम भइ दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु, यात्रु तथा सार्वसाधारणमा ट्राफिक नियमकाे बारेमा ज्ञान, लेन अनुशासन फलो नगर्नु लगायत रहेको उल्लेख छ।
बबरमहल दुर्घटनाको तथ्य
-दुर्घटना भएको बस बा१ख ८६७५
-२०७१ कार्तिक २७ गते बेलुका ५ बजे काभ्रेको धुलिखेलबाट काठमाडौंको पुरानो बसपार्कका लागि छुटेको।
-साढे ६ बजे बस बबरमहल स्थित काठमाडौं जिल्ला अदातल अगाडि दुर्घटनाग्रस्त बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकहरुलाई ठक्कर दिइ बस समेत पल्टिएको।
-सवारी चालकले उक्त वारदात समयमा मादक पदार्थ सेवन गरि (प्रहरीको रिपोर्ट अनुसार) सवारी चलाएको।
-सवारीको गति तीव्र रहेको।
-आफ्नो अगाडि जाँदै गरेको मोटरसाइकललाई समेत सडकको अवस्था नहेरी तीव्र गतिमा उछिनेको।
-तीव्र गतिमा रहेकाले गाडी नियन्त्रण नभएको।
-दुर्घटना ग्रस्त मोटरसाइकलहरु ब३२प २६७६, बा६२प ३६९८, बा३७प ७३२९ र बा५६प ३५३८
फिस्लिङ सडक दुर्घटनाको तथ्य
-दुर्घटना भएको कार बा३च ५५१६
-दुर्घटना भएको ट्रक बा५ख ४४१
-कारको गति तीव्र रहेको।
-विपरीत दिशाबाट आइरहेको सवारी साधन (मालबाहक ट्रक)को वेवास्ता गरी तीव्र गतिमा आफ्नो अगाडि जाँदै गरेको सवारी साधन (ट्रक, नम्बर खुल्न नसकेको)लाई उछिन्न खोजेको।
-आफ्नो गतिमा आइरहेको ट्रनकले समेत ब्रेक लगाइ आफ्नो गाडी नियन्त्रणमा लिन नसकेको।
दुर्घटनाका कारक तत्वहरु
-बसको चालकले मादक पदार्थ सेवन गर्ने।
-लापरबाहीका साथ ओभरटेक गर्ने परम्परा।
-लेन अनुसासनको पालना नगर्ने परम्परा।
-सवारी चालकहरुमा शिक्षाको कमी।
-ऐन नियम कार्यान्वयनको अभाव।
-ट्राफिक चिन्ह तथा संकेतहरुको बारे सवारी चालकमा ज्ञानको कमी।
-सडकमा ट्राफिक चिन्ह तथा संकेतहरुको यथेष्ट प्रयोग नहुनु।
-सवारी चालकलाई नियमित रुपमा सेफ ड्राइभिङ, ट्राफिक नियमको सुसूचित गर्ने वातावारणको अभाव
-सडकमा स्पिडको सीमा नतोकिएको।
-सवारी चालकहरुको उमेरहद नतोकिएको।
उक्त छानविन समितिले सरकारलाई दुर्घटना न्यूनिकरणका लागि विभिन्न सुझावहरु दिएको छ। समितिले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने र दीर्घकालीन रुपमा कार्यान्वयन गर्नुपर्ने छुट्टाछुट्टै सुझाव दिएको छ।
तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझावहरु
-सवारी चालक र सडक प्रयोगकर्तामा ट्राफिकसम्बन्धी ज्ञान नहुसँदा पनि दुर्घटना बढेको छ, सोको लागि सम्बन्धित निकायले तत्काल ट्राफिक सचेतनामुलक कार्यक्रम चलाउने।
-मदक पदार्थ सेवन गरी सवारी चलाउने, तोकिएको गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कडा कारबाही सुरु गर्नुपर्ने।
-लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्यरुपमा राख्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने र सोको चेकजाँचका लागि छड्के गस्तिको व्यवस्था गर्ने।
-ट्राफिक चेकजाँचमा यातायात निरीक्षकलाई अनिवार्यरुपमा सहभागी गराउनु पर्ने।
-हाल काठमाडौंमा रहेको भेइकल फिटनेस टेस्ट सेन्टरलाई तत्काल संचालनमा ल्याउनु पर्ने।
-सडक लेन अनुसाशनमा नरही सवारी चलाउने चालकलाई कडा कारबाही गर्ने।
-सडकको आवश्यक ठाउँहरुमा आवश्यकताअुनसारको ट्राफिक चिन्ह तथा संकेतहरु राख्नुपर्ने।
-चालकहरुलाई नियमित रुपमा सेफ ड्राइभिङ र ट्राफिक नियम तथा ऐन, नियमबारे छलफल, अन्तक्रिया, सेमिनार र गोष्ठीका माध्यमबाट सुसूचित गर्ने।
-अनुगनमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।
-सवारी चेकजाँच (नियमित/छड्के)लाई कडाइका साथ लागू गर्न सम्बन्धित विकास क्षेत्रको स्थानीय प्रशासन र ट्राफिक प्रहरीलाई निर्देशन दिइ कार्यान्वयनमा ल्याउनु पर्ने।
-हालको नियम अनुसार सवारी नियम उल्लंघनकर्तालाई ट्राफिक प्रहरीले सामान्य जरिवाना मात्र लिएर उन्मुक्ति दिने गर्दा उल्लंघनकर्ताको मनोवल बढ्न गई एकै प्रकारको गल्ति बारम्बार दोहोर्याउने गरेको पाइएको र जनस्तरबाट पनि जरिवाना रकम अति कम भएको आवाज उठेको सन्दर्भमा चालकले जानीजानी गर्ने गल्तीमा लिइने जरिवाना रकम गल्ति गर्न हतोत्साही हुने किसिमले बढाउनुपर्ने।
दीर्घकालीन रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझावहरु
-सवारी चालक अनुमतीपत्रलाई व्यवसायिक र गैरव्यवसायिकमा वर्गीकरण गरी सबै यात्रुबाहक सवारी चलाउनेलाई व्यवसायिक चालक अनुमतीपत्र अनिवार्य गर्नुपर्ने।
-हालको प्रावधानअनुसार मृतक र घाइतेलाई दिइने क्षतिपूर्ति रकम अति नै कम भएको भनी जनस्तरबाट आवाज आएकाले क्षतिपूर्ति रकम बढाउन आवश्यक कानुनी सुधार गर्ने।
-सबै सवारीसाधनहरुको सडकमा गुड्न सक्ने अवस्थाको परीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने, सोको लागि भेइकल फिटनेस टेस्ट सेन्टर संचालनमा ल्याउनु पर्ने।
-चालकको लापरबाही तथा हेलचक्राइबाट भएका दुर्घटनामा समेत केही दिनको हिरासत बसाइ बाहेक चालकले अन्य कुनै सजायलगायत आर्थिक दायित्व बेहोर्न नपार्ने, दुर्घटनाको सबै आर्थिक दायित्व यातायात व्यवसायी समिति र बीमाबाट बेहोरिने हुँदा चालकले गाडी चलाउँदा जिम्मेवारीबोध नगर्ने, सावधान नहुने भन्ने गुनासो आएकाले सो को सम्बोधन हुनुपर्ने। सोका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने।
-ऐन नियम विपरीत यात्रुबाहक र मालबाहक सवारी साधन संचालन गर्ने र गराउने सम्बन्धित निकाय वा अधिकारीलाई समेत निलम्बन गरी तत्काल कारबाही गर्न बालियो कानुनी संरचना बनाउनु पर्ने।
-विद्यालयको पाठ्याक्रममा माध्यामिक तहसम्म ट्राफिक ज्ञानसम्बन्धी विषयलाई अनिवार्य समावेश गर्नुपर्ने।
-दुर्घटना भएको २४ घण्टाभित्र चालक नजिकको प्रहरी कार्यालयमा नआएमा कर्तव्य ज्यान मुद्दा चलाउने व्यवस्था ऐनमा गर्नुपर्ने।
-राजमार्गहरुमा गुड्ने सवारीसाधनहरुको गतिलाई नियन्त्रण गर्न टाइम कार्ड र राडार गनको प्रयोग गर्नुपर्ने।
-देशका सम्पूर्ण सडकहरुका लागि सवारीको प्रकारअनुसार गति सीमित गर्ने र निर्धारितभन्दा बढी गतिमा सवारी चलाए कडा कारबाही गर्ने कानुनी व्यवस्था ऐनमा गर्ने।
-सम्पूर्ण सवारीसाधनहरुको मेन्टेनेन्स लग बुक अनिवार्य रुपमा राख्नुपर्ने कानुनी व्यवस्था गर्ने।
सो दुर्घटनाको छानबिन गर्न बनेको समितिले छानविनका क्रममा देखेका अन्य विषयमा समेत सरकारलाई सुझाव दिएको छ।
समितिले दिएका सुझावहरु यसप्रकार छन्- बीचबीचमा कम्तीमा एकपटक अथवा आवश्यकता अनुसार सवारीको आकस्मिक यान्त्रिक चेकजाँच गर्न यातायात व्यवस्था कार्यालय, सडक विभागको तर्फबाट मेकानिकल इन्जिनियर, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरीसहितको अनुगमन टोली परिचालन गर्न राज्य स्तरबाटै ठोस ऐन कानुनको व्यवस्था गर्नुपर्ने र सोको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्नुपर्ने।
-सवारीसाधन गुड्ने जिल्लाहरुमा ट्राफिक प्रहरीसँगै रहने गरी यातायात व्यवस्था कार्यालयको इकाइ वा यातायात निरिक्षकको व्यवस्था हुनुपर्ने।
-नियम कानुनको परिधिभित्र रही यातायात संचालन भए नभएको अनुगमन गर्न हाल यातायात व्यवस्था कार्यालयसँग पर्याप्त स्रोतसाधन नभएकाले सोको उचित व्यवस्था भएमा सवारी दुर्घटना न्यूनिकरणमा प्रभावकारीता आउने।
कुनैपनि यात्रुबाहक सवारी साधन निश्चित किमि गुडिसकेपछि त्यस्ता पुराना सवारीसाधनलाई चलाउन नदिने अनिवार्य कानुनी व्यवस्था गर्नुपर्ने।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।