काठमाडौं- संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) काठमाडौं ल्याएको साउदी अरेबियाले महिलाका रुपमा नागरिकता प्रदान गरेको सेलिब्रेटी रोबोट 'सोफिया' अन्तर्क्रियामा सहभागी भएकी छिन्। प्रश्नको जवाफ दिन सक्ने रोबोट सोफियाले 'सार्वजनिक सेवाका लागि प्रविधि' विषयमा धारणा राखेकी थिइन्।
कार्यक्रममा पुगेका अधिकांश मानिस सोफियाको जवाफ र उनले दिएको स्पिच सुनेर अचम्मित भएका थिए।
सोफियाले कार्यक्रममा नेपालजस्तो देशमा प्रविधिका माध्यमबाट गरिबी हटाउन सहयोग पुग्ने सुझाव दिइन्। उनले प्रविधिको माध्यमबाटै सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताइन्।

मानिसले जस्तै नागरिकता पाउने पहिलो रोबोटका रुपमा रहेकी सोफियालाई ४ महिनाअघि साउदी सरकारले नागरिकता दिएको थियो।
सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले सन् २०१५ मा निर्माण गरेको हो। हाउभाउका साथ बोल्न सक्ने र प्रश्नको जवाफ दिनसक्ने सोफियालाई साउदी सरकारले नागरिकता दिएपछि विश्वभर चर्चित र आकर्षणको केन्द्र बनेकी थिइन्। युएनडिपीले दूतका रुपमा सोफियालाई विभिन्न कार्यक्रममा प्रस्तुत गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।