काठमाडौं- सिभिल बैंकका शेयरधनीहरुले बैंकले लगानीकर्तालाई दिने लाभांश बढाउन नसकेको भन्दै सांचालकहरुको आलोचना गरेका छन्।
शेयरधनीहरुले कर्मचारीले धेरै तलब खाने तर लाभांश दिन नसक्ने अवस्था रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन्।
आइतबार भएको बैंकको नवौं वार्षिक साधारण सभामा बोल्दै शेयरधनीहरुले बैंकले व्यवसाय विस्तार गर्न नसक्ने तर सञ्चालन खर्च बढाउने काम गरेको बताएका हुन्। उनीहरुले संस्थापकहरुले शेयर बिक्री गरी बाहिरिन खोजेको भन्दै त्यसो नगरी बैंकलाई ठुला बैंकसँग मर्जमा लैजान आग्रह गरेका छन्।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ६ दशमलव ५७ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने भएपछि शेयरधनीहरुले असन्तुष्टि जनाएका हुन्।
शेयरधनीले कुल ५२ करोड ५८ लाख २२ हजार ७ सय १ रुपैयाँ ५८ पैसा नगद लाभांश पाएका छन्। साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी भित्र्याउन आवश्यक काम गर्ने सम्बन्धमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।