काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबै मन्त्रालयका सचिवहरुसँग आग्रह गरेका गरेका छन्।
मन्त्री भट्टराईले २ दिनसम्म दीपावली गर्न सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर निर्देशन दिएका हुन्। सबै मन्त्रालय मातहतका निकायले भ्रमण वर्षको सुरुवात भव्य बनाउन यही पुस १५ र १६ गते दीपावली गर्न/गराउन उनले निर्देशन दिएका हुन्।
सबे मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै मन्त्री भट्टराईले मन्त्रालयबाट ६ वटा हिमालमा सन् २०२० भर पूर्ण रुपमा पर्वतारोहण रोयल्टी छुटको व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको जानकारी समेत गराएका थिए। यसका साथै भ्रमण वर्षका लागि अन्य ३ वटा हिमालमा ५० प्रतिशत रोयल्टी छुटको प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको जानकारी गराए।
भ्रमण वर्षलाई ध्यानमा राखी गृह मन्त्रालयबाट लागू गरेको निषेधित क्षेत्रका पदयात्रा शुल्कमा समेत छुट दिने प्रस्ताव अघि बढाउन गृह मन्त्रालयसँग अनुरोध गरिएको छ।
सो छलफल कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालयका सचिवहरु समक्ष राखेका प्रस्तावहरु निम्न छन्ः
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचार हुने गरी छायाँकन हुने फिल्म तथा डकुमेन्ट्रीको निर्माणमा विशेष सहुलियतको प्रस्ताव अघि बढाउने।
- वन तथा वातावरण मन्त्रालयबाट पदयात्रा र पर्वतारोहणको क्रममा राष्ट्रिय निकुञ्ज प्रवेशमा लिइने शुल्कमा छुटको प्रस्ताव अघि बढाउने।
- साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पर्यटकीय स्थलहरुमा निशुल्क वाइफाई, टिभी केबल सञ्चालकहरुबाट भ्रमण वर्षको प्रचारप्रसार, दुरसञ्चार कम्पनीहरुबाट जनवरी १ को उद्घाटनमा आमन्त्रण, जनवरी १ मा हुने उद्घाटनको प्रत्यक्ष प्रशारण र अग्रिम प्रचारको व्यवस्था र नेपाल टेलिकम र एनसेलको दशरथ रंगशालामा नेटवर्कको व्यवस्थालगायतका उपयुक्त माध्यमहरु अवलम्वन गर्ने।
- नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र अन्य मिडियामार्फत कम्तीमा ३ दिन अघिदेखि कार्यक्रमको जानकारी र निमन्त्रणा सन्देश प्रवाह गर्ने।
- स्थानीय तहहरुले पर्यटकलाई दोहोरो शुल्क लिएको गुनासाका सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोहोरो शुल्क हटाउन निर्देशन दिने र त्यसको अनुगमन गर्ने। साथै काठमाडौं उपत्यकाका सबै नगरपालिकाले जनवरी १ लाई लक्षित गरी सरसफाइ गर्ने व्यवस्था मिलाउने।
- अर्थ मन्त्रालयले नेपाल भ्रमण वर्षलाई लक्षित गरी बैंक/बिमा र वित्तीय संस्थाहरुबाट यसको प्रचार-प्रसार र पर्यटकीय स्थलहरुमा आधारभूत आवश्यकता जस्तै पानी शौचालय विश्रामस्थललगायत कार्य गर्न उत्पेरित गर्ने।
- जनवरी १ लाई लक्षित गरी दशरथ रंगशालामा बिजुली बत्तिको व्यवस्था गर्ने।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनवरी १ लाई लक्षित गरी उद्घाटन स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाउने।
- सहरी विकास मन्त्रालयले उद्घाटनस्थलमा पिउने पानीको आवश्यक व्यवस्था मिलाउने।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख पर्यटकीय स्थलमा जाने सडक मार्गको स्तरोन्नती र मर्मत सम्भार साथै पर्यटकीय यातायातमा छुट सम्बन्धमा।
- सबै मन्त्रालयहरुले मातहतका निकायहरुमा डिसेम्बर ३१, अर्थात् पुस १५ र जनवरी १, अर्थात् पुस १६ गते साँझ दिपावली गर्न निर्देशन दिने।
- सबै मन्त्रालयहरुले मन्त्रालय र मातहतका काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सबै निकायहरुमा कार्यरत सम्पूर्ण सरकारी राष्ट्रसेवक कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।