लहान– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम हुलाकी सडक र मध्यपहाडी लोकमार्गलाई जोडेर मधेसको कायापलट गर्ने बताएका छन्। बहुमत सहितको वर्तमान सरकारले १० वर्षभित्र मुलुकको आर्थिक मानचित्र परिवर्तन गर्ने दाबी पनि उनले गरे।
हुलाकी राजमार्गको स्तरोन्नति कार्यको शिलान्यास गर्न मंगलबार सिरहाको बरियारपट्टि गाउँपालिका ३ स्थित बरियारपट्टिमा आएका अध्यक्ष दाहालले अब आर्थिक क्रान्ति गरेर मधेससहित सिंगो मुलुकको समृद्धि र विकासका लागि सरकारले काम गर्ने बताए।
स्थानीय, प्रादेशिक र संघीय सरकार बनिसकेकाले अब क्रान्ति राजनीतिक नभई आर्थिक हुनुपर्ने बताएका उनले पूर्व-पश्चिम हुलाकी सडक, मध्यपहाडी लोकमार्ग लगायत प्रमुख सडकहरुको लिंक गराई आर्थिक समृद्धिको बाटो खोल्नुपर्ने बताए। दोस्रो पटक प्रधानमन्त्री हुँदा आफूले नै भारतीय पक्षसँग कुरा गरी अलपत्र अवस्थामा रहेको हुलाकी मार्गको काम अघि बढाएको दाहालले बताए।
सिंचाइ, पूर्वाधारको विकास गरी समृद्ध मधेस बनाउन सुनकोशी–कमला डाइभर्सनको सर्भेको काम भइरहेको र वर्तमान सरकारले नै त्यसको कार्यान्वयन गर्ने बताएका दाहालले तिब्बतसँग जोडिएको केरुङ–काठमाडौं–लुम्बिनी–जनकपुरलाई जोड्ने रेलमार्ग निर्माण गरिने बताए।
तराईलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी लाखौं पर्यटक भित्र्याएर समृद्ध मधेस बनाउन आफू र आफ्नो पार्टी लागिरहेको बताएका दाहालले स्थिर सरकार बनाई विकास निर्माण गर्ने उद्देश्य अनुसार नै जनताले वाम गठबन्धनलाई बलियो बनाएको जिकिर गरे।
‘अबको काम विकास र समृद्धि हो। यसमा कुनै पनि बहानाबाजी चल्दैन’, उनले भने।
शिलान्यास सामारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी लगायतको पनि उपस्थिति थियो।
हुलाकी सडक आयोजनाका निर्देशक श्याम खरेलका अनुसार, ९ सय ७५ किलोमिटर लम्बाइको हुलाकी सडक स्तरोन्नतिका लागि कुल ४७ अर्ब २४ करोड बजेट छुट्याइएको छ। एक सय ५० वटा पुलमध्ये ६५ वटा पुल निर्माण भइसकेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।