काठमाडौं- एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने भएको छ।
सोही क्रममा बैंकले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ। यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र उक्त सेवाबाट ग्राहकहरूले नयाँ अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।
ग्राहकवर्गले यो सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको ब्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारीसमेत पाउन सक्ने बैंकले जनाएको छ।
यो सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभिआर सेवा दर्ता गर्नुपर्दछ। दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुवै माध्यमबाट हुने बैंकले जनाएको छ। ग्राहकले एसएमएसबाट दर्ता गर्नका लागि सर्वप्रथम आइभिआर स्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ।
एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ। दर्ता प्रक्रिया समाप्त भएपश्चात यो सेवा उपभोग गर्नका लागि ०१-५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्ने बैंकले जनाएको छ।
यसैगरी फोन कलद्वारा यो सेवा दर्ता गर्नका लागि आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट बैंकको आइभिआर नम्बर ०१-५९७०१०० मा डायल गरिसकेपछि ग्राहकहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकले अहिले देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।