काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार-प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ।
आइतबार नेपाल भ्रमर्ण वर्ष-२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ-संस्थाहरुसँगको छलफल कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ केवल ‘इभेन्ट’का रुपमा नभई दीर्घकालीन आधारशिला बनाउने कार्यक्रम बनाउनेतर्फ सरकारको जोड रहेको बताए। ‘नेपाल भ्रमण वर्ष-२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटो विश्वसामु देखाउने उनको भनाइ छ।
लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिँडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए। उनले भने, ‘अब तपाई हामी एउटै बाटोमा आइपुगेका छौं। त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान।’
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरुको उपस्थितिमा थियो।
मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने बताए। उनले भने, ‘नेपालको अबको बाटो समृद्धिको हो, नेपाल लगानीको लागि उयुक्क्त ठाउँ हो भन्ने सन्देश हामीले दिनेछौं।’
मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ को प्रचार तथा प्रबर्द्धनको निम्ति ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ को लोगो आफ्ना उत्पादनको सामग्रीहरुमा प्रयोग गर्न आग्रहसमेत गरे। मन्त्री भट्टराईले अब गुनासो वा माग राखेर हिड्नेभन्दा पनि मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै क्रियाशील हुनुपर्ने समय आएको बताए। उनले भने, ‘अब गुनासो होइन देश निर्माणका अजेन्डा बोकेर सबै लाग्नुपर्छ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार-प्रसार तथा प्रबर्द्धनमा महासंघ जुटिरहेका जानकारी दिइन्। महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एसोसिएट शाखाहरु सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको बताइन्। महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भ्रमण वर्षको प्रमोसन गरेको अध्यक्ष राणाको भनाइ छ। उनले भनिन्, ‘हामी जहाँ जान्छौं, त्यहा प्रमोसन गरेका छौं।’
नेपाल उद्योग परिसरका अध्यक्ष शतिस कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’लाई सफल बनाउन नीजि क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताए। अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’को लोगो राख्ने प्रतिबद्धता जनाए।
नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष राजेशकाजी श्रेष्ठ ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’मा आउने २० लाख पर्यटकको संख्याभन्दा सन्देश महत्वपूर्ण हुने बताए। अध्यक्ष श्रेष्ठले भने, ‘संख्या ठुलो होइन सन्देश ठुलो कुरा हो। सन्देश राम्रो गइरहेको छ।’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पर्यटनको निम्ती पूर्वाधार निर्माण जरुरी रहेको भन्दै ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ लाई मध्यनजर गरेर भौतिक पूर्वाधारलाई तिब्रता दिइनुपर्ने बताए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले विदेश जाने नेपाली कामदारहरुमार्फत भ्रमर्ण वर्षको प्रचार गरिरहेको जानकारी दिए।
वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई भ्रमण वर्षको टोपी अनिवार्य गरिएको उनको भनाइ छ।
कार्यक्रममा नेपाल साना घरेलु उद्योग महांघका अध्यक्ष श्याम गिरी, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ सचिवालय संयोजक सुरज वैद्य र पर्यटन बोर्डका सिइओ दिकराज जोशीले तयारीको विषयमा जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।