काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतीय समकक्षी सुरेश प्रभुसँग भेटवार्ता गरेका छन्। विश्व व्यापार संगठनको भारतमा भएको मन्त्रीस्तरीय बैठकमा भाग लिन दिल्ली पुगेका मन्त्री यादवले नेपालबाट भारत निकासी हुने वस्तुको निर्यात सरलीकरणका विषयमा समकक्षीसँग वार्ता गरेका हुन्।
भेटमा यादवले नेपालको कृषिजन्य वस्तुको निर्यात सरलीकरण गर्न नेपाल-भारत सीमाका मुख्य भन्सार नाकामा क्वारेन्टाइन लगायतका व्यापारजन्य पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्युनीकरण गर्ने र नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषयमा ध्याकर्षण गराएका थिए।
मन्त्री यादवले अगामी अप्रिल महिनामा नेपालमा हुने वाणिज्य सचिव स्तरिय बैठकलाई सफलतापूर्वक सम्पन्न गर्ने लगायतका विषयमा समेत छलफल गरे।
भेटमा भारतीय मन्त्री सुरेश प्रभुले नेपाल-भारतबीचको व्यापार र पारवहनमा देखिएका समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधान गर्न पहल गर्ने बताएका थिए। उनले नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुहरुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा नतिजा देखिनेगरी काम गर्न भारत इच्छुक रहेको बताए।
त्यस्तै मन्त्री प्रभुले आगामी वाणिज्य सचिव स्तरीय बैठकलाई सफल बनाउन पूर्ण तयारीका साथ काम थाल्ने र तत्काल गर्न सकिने कार्य थालिहाल्न सहमति जनाएका थिए।
विश्व व्यापार संगठनको दुईदिने सम्मेलनमा भाग लिन मन्त्री यादव दिल्ली पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।