काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका हुन्। बुधबार उनीहरुसँग सामूहिक छलफल गर्न बोलाइएको हो।
प्रदेश सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवलाई खबर पठाएको छ। केही दिनअघि केन्द्रका मन्त्री र मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल गरेका प्रधानमन्त्री ओलीले प्रदेशका प्रमुख व्यक्तिसँग पनि छलफल गर्न लागेका हुन्। प्रदेश संरचनामा मुख्यमन्त्री लगायत अन्य मन्त्री र सांसदहरु अलमलमा परेको समयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उनीहरुलाई राजधानी बोलाएका हुन्।
प्रदेश सरकारका मन्त्रीहरु समेत काम नभएको भन्दै काठमाडौंतिरै भौंतारिरहेका छन्। मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन्। प्रदेशमा सांसदहरुले हालसम्म लोगोसमेत नपाएको अवस्था छ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमा समेत अन्योल उत्पन्न भइरहेका बेला बुधबारको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए। प्रधानमन्त्रीले प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन्।
प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएका हुन्। प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ। खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुनेछ।
प्रधानमन्त्री कार्यालयका अनुसार संघीयतका कार्यान्वयन देखिएका जटिलता, प्रदेशका समस्या, कर्मचारी अभाव र आर्थिक सञ्चालनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उनीहरुलाई राजधानी बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।