काठमाडौं- कानुनमन्त्री शेरबहादुर तामाङ नयाँ सरकारमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री बने। सोमबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
तर उनले सार्वजनिक गरेको विवरणको कागजमै गल्ती भेटिएको छ। जबकि उनले पत्रकार सम्मेलनमा आफ्नो ऋण ७० लाख भएको बताइरहँदा उनले उपलब्ध गराएको विवरणमा ७० नभई ७ लाख ऋण उल्लेख थियो।
कृषि विकास बैंकमा ४ लाख र अन्यमा ३ लाख गरेर उनले आफ्नो ऋण ७ लाख रुपैयाँ भएको लेखेका थिए।
कुन ऋण सही हो त लिखित कि मौखिक? भन्ने प्रश्नमा मन्त्री तामाङले पछि भने, 'टाइप मिस्टेक हुँदा ४० लाख हुनुपर्नेमा ४ लाख र ३० लाख हुनुपर्नेमा ३ लाख भएछ। लेखाइमा गल्ती भयो। मेरो ऋण ७० लाख रुपैयाँ नै हो। गल्ती भएछ। अब सच्याउँछु।'

यस्तै, मन्त्री तामाङले विभन्न कम्पनीका गरी १५ लाख रुपैयाँ बराबरको सेयर रहेको जनाएका छन्। मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।
मन्त्री तामाङले काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।