काठमाडौँ- टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ।
गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै आज टिवानले एक विज्ञप्ति जारी गरी ठमेल आसपासमा बसपार्क निर्माण गर्न माग गरेको हो। टिवानका महासचिव कृष्ण आचार्यले कान्तिपथबाट दैनिक हजारौँ पर्यटकलाई आवतजावत गराउने पर्यटकीय बसलाई ठमेल वरपरको क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने बताए। 'सरकारले १५ लाख पर्यटक भित्र्याउने निर्णयअनुसार काम गरिरहेको बेला गृह मन्त्रालयको यो निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' महासचिव आचार्यले भने।
पर्यटक बसपार्कलाई ठमेल क्षेत्र आसपासबाट टाढा लगेमा नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने टिवानको भनाइ छ। झन्डै एक सयको संख्यामा रहेको पर्यटकीय बस बिहान ७ बजे कान्तिपथबाट पोखरा, सौराहा र लुम्बिनीमा सञ्चालन हुँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।