ब्रसेल्स– युरोपेली संघका विदेश मन्त्रीले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने बेलायतको निर्णयप्रति समर्थन जनाएका छन्।
विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा बेलायतले २३ जना रुसी कुटनितिज्ञलाई देश निकाला गर्ने निर्णयप्रति उनले सोमबार समर्थन जनाएका हुन्।
मासिक बैठकपछि निकालेको वक्तव्यमा उनले आक्रमणको कडा शब्दमा भत्सर्ना गरेका छन्। घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै उनले पिडितप्रति गहिरो सहानुभूती व्यक्त गरेका छन्।
यसअघि अमेरिका लगायतका देशहरुले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए।
गत बुधबार बेलायती प्रधानमन्त्री टेरेसा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो।
रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।