बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनापछि पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री थपेका छन्। यो सँगै मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ।
सोमबार थपिएका मन्त्रीहरुमा लीला गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बाँकेकी आरती पौडेललाई कृषि तथा सहकारी मन्त्रालय र गुल्मीका सुदर्शन बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
थपिएका मन्त्रीमा गिरी र पौडेल एमालेको तर्फबाट मन्त्री बनेका हुन् भने बराल माओवादी केन्द्रका हुन्। तीनै जना मन्त्रीलाई पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले सपथ खुवाएका छन्।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र २ क बाट निर्वाचित सांसद हुन् भने पौडेल बाँके क्षेत्र नम्बर १ ख बाट निर्वाचित भएका थिए। बराल गुल्मी १ क बाट निर्वाचित सांसद हुन्।
मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैं राखेका छन्। गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन माओवादी केन्द्रका कुलप्रसाद केसी र एमालेका बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।