काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीको सम्पूर्ण सेवा-सुविधा रोक्ने समेत चेतावनी दिए।
देश संघीय संरचनामा अघि बढिसकेको उल्लेख गर्दै उनले सरकारले प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी सम्बन्धित क्षेत्रमा नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए।
‘अहिलेसम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगिसकेका छन्, अहिले रेकर्ड लिने काम जारी छ। खटाइएका ठाउँमा कर्मचारीहरु अनिवार्य पुग्नैपर्छ’, उनले भने, ‘नपुगेको वा अन्यत्र काम गर्छु भन्नेलाई कुनै पनि सुविधा दिँदैनौं, उहाँहरुले तत्काल काम सुरु गर्नुपर्छ।’
२४ घन्टा नै देशको सेवा गर्न तयार भएर सपथ खाने तर सरकारले खटाएका ठाउँमा नजाने काम सह्य नहुने मन्त्री पण्डितको भनाइ छ।
उनले पटक–पटक ताकेता गर्दा पनि खटाइएको कार्यक्षेत्रमा नजाने वा अटेर गर्ने कर्मचारीहरुलाई सधैंको लागि बिदावारी गर्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।