पोखरा- सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने २ महिलासहित ९ जनालाई सार्वजनिक गरेको हो।
'रु २५ लाख चिट्ठा पर्यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु' भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै ३ समूहलाई रु २ लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाकी संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी रहेका छन्।
प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।