काठमाडौं- रसुवागढी र सान्जेन हाइड्रोपावरको साधारण सेयर (आइपिओ) सोमबारबाट बिक्री तथा निष्काशन खुल्ला भएको छ। कम्पनीले पुनः संस्थागत लगानीकर्ता र ऋणदाता संस्थाका कर्मचारीहरुलाई आइपिओ जारी गरेको हो।
रसुवागढीले सञ्चय कोष, रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारी र ऋण प्रदायक कम्पनीको लागि आइपिओ खुला गरेको हो भने सान्जेनले विद्युत प्राधिकरण, रसुवाका स्थानीय निकायका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीलाई बिक्री खुलाएको हो।
रसुवागढीले संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र सान्जेनले १२ लाख ७७ हजार ५ सय कित्ता आइपिओ बिक्री गर्दैछ। यसका लागि चैत १३ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
रसुवागढीले संस्थापक ऋणदाता कम्पनी सञ्चय कोषका कर्मचारीलाई ६ लाख ९४ हजार ४६ कित्ता र सान्जेनले ३ लाख ६५ हजार कित्ता आइपिओ जारी गरेका हुन्।
सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो भने रसुवगढीको सिद्धार्थ क्यापिटल हो। लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आइपिओमा आवेदन दिन सक्नेछन्।
यी दुवै कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपिओ बिक्री गरिसकेका छन्। उक्त जारी आइपिओमा ६ गुणा बढी आवेदन परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।