काठमाडौं– भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीले जनही ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्। सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई उक्त रकम वितरण गरेको हो।
स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जनाएको छ। हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने तयारी छ।
गत असोज २३ गते केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरधुरीको पहिचान, लाभग्राही विवरणको प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रससहित अन्य विकास साझेदारले पनि बाढीपीडितलाई नगद सहयोग गर्न चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सहायता वितरणमा दोहोरोपना हुन नदिने र कुनै पनि प्रभावित परिवार नछुट्ने व्यवस्था मिलाउन सरकारले जोड दिएको छ। यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।