गाईघाट- उदयपुरको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालिम केन्द्र तथा स्कुल बनाउने भएको छ।
बेलका नगरपालिकाले रु ९ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल भवनको निर्माण कार्य सुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए। बेलकास्थित चौदण्डीको रानीटार मैनामैनीको उच्च भूभागबाट सप्तकोशी किनार क्षेत्रमा प्याराग्लाइडिङ उडान गरेर पर्यटकीय विकास गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्रशिक्षण केन्द्र तथा स्कुल स्थापना गरिन लागेको नगरपालिकाले बताएको छ।
२०७५ को जेठ महिनाबाट नै यस प्याराग्लाइडिङ प्रशिक्षण सञ्चालनसमेत गर्ने योजना रहको प्रमुख थापाले बताए। बेलकाको मैनामैनीको बोप्ताङडाँडा, चम्पाकोट डाँडा, अप्टाङ र सुघाचरी भीरबाट प्याराग्लाइडिङ उडाएर सप्तकोशीको डुम्रिबोट, चतरा तथा सोमबारे क्षेत्रसम्म उडान गरेर व्यापक पर्यटन विकास गर्न सकिने भएपछि नगरपालिकाले बृहत् गुरुयोजना बनाएर प्याराग्लाइडिङ सञ्चालन अभियान थालिएको नगरपालिकाको भनाइ छ।
भारतबाट ल्याउन लागिएको सानो पानीजहाज पहिलो पटक चौदण्डीको रानीटारदेखि सप्तकोशीको चतरासम्म र माङकुटारदेखि चतरा हुँदै तपेश्वरी क्षेत्रसम्म सञ्चालन गरिन लागेको पनि नगरप्रमुख थापाले बताए।
प्याराग्लाइडिङ सञ्चालनका लागि यसअघि नै दुई पटक परीक्षण उडान भइसकेको छ भने जहाज पनि एक पटक सञ्चालन गरेर परीक्षण गरिसकिएको छ। प्याराग्लाइडिङबाट मात्र वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाले राखेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।