मस्को- रुसको राष्ट्रपतिमा पुन: निर्वाचित भ्लादिमिर पुटिनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छन्।
रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने जिनपिङ पहिलो विदेशी राष्ट्रप्रमुख हुन्। पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपतिले पुटिनलाई एक सन्देश पठाई बधाई दिएका थिए। उनले पठाएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने अपेक्षा गरिएको छ।
पुटिनको नेतृत्वमा उनको आगामी ६ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति जिनपिङले बताएका छन्। 'यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा गरेको छु,' उनले बधाई सन्देशमा भनेका छन्।
यसैबीच, चुनावको नतिजाले जितको निश्चित भएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गरेका छन्। आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको उनले बताए।
उनले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको दाबी गरेका छन्। 'मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा देशको आर्थिक वृद्धि भएको छ। त्यसैले देशको भविष्यका लागि मतदान गर्न जनतासँग अपिल गरेको थिएँ,' पुटिनले भने।
विजयपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।